
काठमाडौँ, ३ फागनु । ७८ लाख घुस काण्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको राजीनामा स्वीकृत भएको छ ।
पाठकले शुक्रबार दिउँसो राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका थिए । आयुक्त पाठकको राजीनामा राष्ट्रपति भण्डारीले स्वीकृत गरेको र त्यसबारे वक्तव्य तयार हुँदै गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
पाठकले भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवादमा पाठकले ७८ लाख घुस लिएको समाचार सार्वजनिक भएको थियो । उनले घुस लिएको भिडियो प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पनि पुगिसकेको बताइएको छ ।
ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई बिहीबार बिहान बालुवाटार बोलाएर पाठकविरुद्ध महाअभियोगको तयारी गर्न निर्देशन दिएका थिए । सोही अनुसार आज महाअभियोग दर्ताको तयारी थियो । तर, पाठकले त्यसअघि नै राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका थिए ।
पाठकले दर्ता गराएको राजीनामा पत्र खोलेर हेरेपछि राष्ट्रपतिले आफ्नो सल्लाहकारहरुसँग परामर्श गरी स्वीकृत गरेको बताइएको छ । राजीनामासँगै पाठक महाअभियोगबाट भने जोगिएका छन् ।















प्रतिक्रिया