
काठमाडौं, ३ फागुन । हिरो गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालले शुक्रबार म्यानमारसँग खेल्दै छ । नेल नेपाली समय अनुसार साँझ सवा छ बजेपछि शुरु हुनेछ ।
भारतको उडिसास्थित कालिङ्गा रंगशालामा हुने खेलमा नेपालले म्यानमारलाई हराएर इतिहास कायम गर्ने दाउमा हुने छ ।
नेपालले यसअघि समुह चरणको पहिलो खेलमा म्यानमारसँग ३–० ले हारेको थियो ।
दक्षिण एसियाली फुटलबमा सधै उपाधिका लागि तगारो बन्दै आएको भारतलाई समुह चरणमै पराजित गरेपछि नेपालले फाईनलमा म्यानमारलाई प्रतिद्वन्दीको रुपमा पाएको हो । शुक्रबारको खेल नेपालका लागि उपाधिसँगै हारको बदला लिने अवसर पनि हो ।
नेपालले दोस्रो खेलमा आयोजक भारत र तेस्रो खेलमा इरानलाई हराएको थियो ।
म्यानमार प्रतियोगिताको अपराजित टिम हो । उसले नेपाल सहित आयोजक भारत र इरानलाई पराजित गरेको थियो ।
विश्व वरियतामा म्यानमार ४४ औँ स्थानमा छ भने नेपाल १०८ औं स्थानमा रहेको छ ।
मुख्य प्रशिक्षक हरि खड्काले नेपाल उच्च मनोबलका साथ शुक्रबारको खेलमा मैदान उत्रिने बताए । पछिल्ला दुई खेल जितेकाले पनि नेपालले उत्कृष्ट खेल पस्किने अपेक्षा गरिएको छ ।















प्रतिक्रिया