
काठमाडौं, ३ फागुन । उदयपुरलाई साक्षर जिल्ला घोषणा गरिने भएको छ । नेपाल सरकार शिक्षा मन्त्रालयले तोकेको १२ वटा मापदण्ड उदयपुरले पुरा गरिसकेकाले आईतबार उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले साक्षर जिल्ला घोषणा गर्दैछन् ।
शुक्रबार जिल्ला अनौपचारिक शिक्षा समिति उदयपुरले पत्रकार सम्मेलनको आयोजना गरी साक्षर जिल्ला घोषणाको तयारी पुरा भएको जनाएको हो । विभिन्न जातजातिका भेषभुसा झाँकी, साँस्कृतिक कार्यक्रमसहित तामझामकासाथ गर्न लागिएको कार्यक्रममा १५ हजारको सहभागिता रहने अनुमान गरिएको छ ।
घोषणासँगै गाईघाट बजार नजिक रहेको साक्षर स्तम्भकोसमेत अनावरण गर्ने कार्यक्रम रहेको जिल्ला अनौपचारिक शिक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले बताए । साक्षर जिल्ला घोषणाका लागि १५ देखि ६० बर्ष उमेर समुहका ९५ प्रतिशतले आफु र आफ्नो परिवारको नाम लेख्न, हस्ताक्षर गर्न, सामान्य हिसावकिताव राख्न सक्नु पर्दछ ।
त्यसैगरी मोवाईल र क्यालकुलेटरबाट अंक र अक्षर चिनेर प्रयोग गर्न, १ देखि १ सयसम्म गणना गर्न, घडी हेरेर समय बताउन, भित्तेपात्रो हेरी तिथिमिति बनाउन जस्ता कार्य गर्न सक्नु पर्दछ । केन्द्रले तोकेको मापदण्डभन्दा १ दशमलव ३२ प्रतिशत बढि साक्षर भईसकेको परियारले बताए ।
तथ्यांकअनुसार जिल्लामा ९६ दशमलव ३२ प्रतिशत सर्वसाधरण साक्षर भईसकेको उनले बताए । जिल्लामा १५ देखि ६० बर्ष उमेर समुह १ लाख ७४ हजार १ सय ८ जना रहेकामध्ये हालसम्म १ लाख ६७ हजार ७ सय ६ जना साक्षर भईसकेका छन् भने बाँकी ६ हजार ४ सय २ जनालाई आगामी १ बर्षभित्रमा साक्षर बनाई सक्ने लक्ष्य लिइएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख हरिहर धिताल जानकारी दिए ।
यो तथ्यांक शिक्षा कार्यालयले आफु मातहतमा रहेका निकायबाट घरधुरी सर्वेक्षण गरी तयार पारेको धितालले वताए । पत्रकार सम्मेलनमा अध्यक्ष परियारले मानव सूचाकंमा उदयपुर जिल्लालाई अव्वल बनाउन यो अभियानले सहयोग मिल्ने बताए । उनले समृद्ध नेपाल निर्माणका लागि सरकारले साक्षरता बनाउन गरेको लगानीलाई सार्थक बनाउनु पर्ने धारणा व्यक्त गरे । साक्षरता शिक्षा २००४ सालबाट प्रारम्भ भएको हो । यससँगै २०१३ बाट योजनाबद्धरुपमा प्रोढसाक्षरता कार्यक्रम सञ्चालन गरिएको धितालले बताए ।
कोही पनि नेपाली जनता शिक्षाबाट वञ्चित नहुन भन्ने हेतुले सरकारले २०५६ सालमा अनौपचारिक शिक्षा केन्द्रको स्थापना गरी अभियान सञ्चालन गर्दै आएको छ । यससँगै सरकारले सन २०१५ सम्ममा नेपाललाई साक्षर घोषणा गरिसक्ने लक्ष्य लिई आ.व. ०६९÷०७० बाट सघनरुपमा साक्षर नेपाल अभियान सञ्चालन गर्दै आएको थियो ।












प्रतिक्रिया