४ कार्तिक २०८३, बुधबार

घुस प्रकरणमा मुछिएका अख्तियारका आयुक्तविरुद्ध आजै महाअभियोग !

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ फागुन । जग्गा विवाद मिलाउने भन्दै ७० लाखभन्दा धेरै घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकमाथि आजै महाअभियोग प्रक्रिया सुरु गर्ने तयारी भएको छ ।

आयुक्त पाठकले घुस लिएको प्रमाणसहितका समाचार बाहिरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई महाअभियोगको तयारी गर्न निर्देशन दिएका थिए । सोही अनुसार नेकपाका सांसदहरुको हस्ताक्षर संकलन सुरु गरिएको थियो ।

बिहीबार नै कानुनमन्त्री भानुभक्त ढकाल र महान्यायाधिवक्ता अग्नि खरेलबीच यो विषयमा छलफल भएको थियो । उनीहरुबीच भएको छलफलमा सुरुमा राजीनामा गर्न समय दिने र राजीनामा नआए महाअभियोगको तयारी गर्ने निष्कर्ष जुटेको थियो । तर, पाठकले अहिलेसम्म राजीनामा दिएका छैनन् ।

नेकपा संसदीय दलका उपनेता नेम्वाङले पाठकमाथि आजै महाअभियोगको प्रक्रिया सुरु हुने जानकारी दिए । पाठकले नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवादमा ७० लाखभन्दा धेरै घुस लिएको खुलासा भएको थियो ।

महाअभियोग पारित गर्न दुई तिहाइ आवश्यक हुने भएकाले सत्तारुढ दल संघीय समाजवादी फोरमसँग पनि राय लिएर अघि बढ्ने सत्तारुढ दलको तयारी छ । पाठकको घुस प्रकरणको भिडियो प्रधानमन्त्रीसमक्ष पुगिसकेको बताइएको छ ।