४ कार्तिक २०८३, बुधबार

७८ लाख रुपैयाँ घुस खाने अख्तियारका आयुक्तविरुद्ध महाअभियोगको तयारी

41.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपायोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध महाअभियोग प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।

सत्तारुढ दलका नेताहरुसँग बिहीबार बिहान बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले आयुक्त पाठकले घुस लिएको प्रमाण फेला परेको भन्दै महाअभियोग प्रस्ताव अघि बढाउन निर्देशन दिएका हुन् ।

आयुक्त पाठकले घुस लिएको विषयमा विभिन्न सञ्चारमाध्यमहरुमा समाचार आएपछि प्रधानमन्त्री ओलीले यसमा चासो लिएका हुन् । उनले प्रधानमन्त्री निवास बालुवाटरमा बिहीबार बिहान संसदीय दलका उपनेता सुवास नेम्वाङसहितका नेताहरुको बैठक बसालेका थिए ।

महाअभियोगको प्रक्रिया अघि बढाउन प्रधानमन्त्री ओलीले नै निर्देशन दिएपछि नेकपाका केही सांसदहरु यसको तयारीमा लागेका छन् । पाठकविरुद्ध चाँडै महाअभियोग संसद सचिवालयमा दर्ता गर्ने तयारी हुँदैछ ।

संवैधानिक निकायका अध्यक्ष तथा पदाधिकारीले गलत आचरण गरेमा संसदले महाअभियोग लगाउन सक्ने व्यवस्था नेपालको संविधान २०७२ ले गरेको छ । संविधानको धारा १०१ को उपधारा दुईमा प्रतिनिधिसभामा एक चौथाइ सांसदले महाअभियोग प्रस्ताव संसदमा दर्ता गरे सो व्यक्ति निलम्बनमा पर्छ ।

प्रस्ताव पारित गराउन दुई तिहाइ बहुमत आवश्यक पर्छ । अहिले सरकारमा रहेका नेकपा र संघीय समाजवादी फोरमसँग संसदमा दुई तिहाई मत छ ।

आयुक्त पाठकले स्वामित्व विवाद रहेको भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपैया घुस लिएको खुलेको । २०७४ भदौमा पाठकले न्यौपानेबाट दुई पटक गरी ३८ र ४० लाख रुपैया घुस लिएका थिए ।