– विश्वराज पछल्डङ्ग्या
नेपालगन्ज, २२ माघ । बाँकेको वैजापुरबाट प्रहरीले तीनसय वर्ष पुरानो धातुको बुद्ध मूर्ति सहित ७ जनालाई पक्राउ गरेको छ ।
वैजापुर–२ का गुरुलाल चौधरीको खाली गोठमा लुकाई छिपाई राखेको अवस्थामा ११ किलो ८ सय ९० ग्राम धातुको बुद्ध मूर्ति बुधवार राती बरामद गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज प्रहरी नायब उपरीक्षक जनक शाहीले जानकारी दिए ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिक्टा सिचाइँ आयोजनाको मुल बाँधस्थल अगैयामा रहेको राप्ती रिभर साइड कटेजमा एक हप्तादेखि बस्दै आएका बाँके सीतापुर–४ का नवराज योगी, ५ का पद्म चौधरी, ओखलढुंगा बिलाक्छु–७ का जीतप्रसाद चोरेल र लक्ष्मी चोरेल, जाजरकोट सक्ला– २ का शिव सिंह, सल्यान मुलखोला–३ का क्षेत्रबहादुर बिसी र हुम्ला मैला–४ का बिकाश शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आशंकाको आधारमा सोधपुछ गर्दा उनीहरुले लुकाई राखेको प्राचिन बुद्ध मूर्ति बरामद गरिएको डिएसपी शाहीले जानकारी दिए । मूर्ति १० ईन्च उचाईको छ ।
सो मूर्ति डोल्पाका बादल थापाबाट ८ हजार रुपैयाँमा किनेर ल्याएको उनीहरुले प्रहरी समक्ष बयान दिएका छन् ।
मूर्ती भारत लैजाने तयारीमा रहेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।















प्रतिक्रिया