काठमाडौँ, २२ माघ । दक्षिण एसियासहित १५ देशका तेस्रोलिङ्गी र हिंजरा समुदायले तेस्रोलिङ्गीको स्वास्थ्य र अधिकारका लागि आ–आफ्ना देशका सरकारको ध्यानाकर्षण गराउने बताएका छन् ।
नीलहिरा समाजको आयोजनामा काठमाडौँमा भएको तीनदिने तेस्रोलिङ्गी र हिंजरा समुदायको परामर्श बैठकले तेस्रोलिङ्गी र हिंजरा समुदायको पहिचान प्राप्त भए पनि ‘वृत्ति विकास, समान अवसर’ भने अझै प्राप्त हुन नसकेको निष्कर्ष निकालेको छ ।
नीलहिरा समाजका कार्यबाहक निर्देशक मनिषा ढकालले बैठकले तेस्रोलिङ्गीको स्वास्थ्य सम्बन्धमा ‘ब्लुप्रिन्ट’ को मस्यौदा पनि तयार गरेको छ । ब्लुप्रिन्टले भविष्यमा तेस्रोलिङ्गी र हिंजराको स्वास्थ्यसम्बन्धी नीति निर्माण गर्ने प्रक्रियामा वकालतको भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।
तेस्रोलिङ्गी र हिंजराको परिवार, प्रहरी प्रशासन र समाजबाट मानवअधिकार हनन् हुने गरेको भन्दै उनीहरुको मानवअधिकारको रक्षा गर्न सरकार, प्रहरी प्रशासन र मानवअधिकार आयोग मिलेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
बैठकले दक्षिण एसियाका अरु देशको तुलनामा नेपालमा तेस्रोलिङ्गीले सहजरुपमा पहिचान पाउने गरेको र अरु देशमा पनि नेपालको जस्तै पहिचान पाउनका लागि उदाहरणसहित प्रस्तुत हुनुपर्ने निष्कर्ष निकालेको थियो ।
बैठकमा नेपालसहित भारत, पाकिस्तान, भुटान, बङ्गलादेश, मलेसिया, चीन, थाइल्याण्डलगायत १५ देशमा ६० जना तेस्रोलिङ्गी र हिंजराको सहभागिता थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका सभासद् डा चन्द्रमोहन यादवले अब बन्ने नयाँ संविधानमा समलिङ्गी तेस्रोलिङ्गीको अधिकारलाई सम्बोधन गरिने बताउनुभयो ।
उहाँले समलिङ्गी तेस्रोलिङ्गीका सम्बन्धमा सर्वोच्च अदालतले सन् २००७ मा गरेको फैसलाले यो समुदायलाई मान्यता दिइसकेको भन्दै बाँकी रहेका विषय आगामी संविधानमा समेटिने विश्वास व्यक्त गर्दै सो समुदायको परिवर्तनको अभियानमा आफ्नो ऐक्यबद्धतासमेत जाहेर गर्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले समलिङ्गी तथा तेस्रोलिङ्गी समुदायका क्षेत्रमा धेरै काम भइरहेको भन्दै एचआइभी÷एड्स नियन्त्रणका कार्यमा पनि यो समुदायसँग सहकार्य भइरहेको बताउनुभयो । रासस
















प्रतिक्रिया