– डम्मरराज भट्ट
महेन्द्रनगर २२ माघ । नेपाल टेलिकम दुरसञ्चार प्राधिकरण शाखा कार्यालय महेन्द्रनगरले ११ औं वार्षिकोत्सव मनाएको छ ।
‘राष्ट्र निर्माण हाम्रो हाम्रो अभियान’ भन्ने नाराका साथ विहीवार महेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी नेपाल टेलिकमले आफ्नो ११ वार्षिकोत्सव मनाएको हो । नेपाल टेलिकम कञ्चनपुरका प्रमुख जगदिश लेखकले अहिले जिल्लाका ३ स्थानमा थ्रीजी इन्टरनेट सेवा सञ्चालनमा रहेको जानकारी दिनुभयो ।
उहाँले निकट भविष्यमै जिल्लाका १८ स्थानमा थ्रीजी सेवा विस्तार गर्ने तयारी भइरहेको बताउनुभयो । अहिले थ्रीजी जडान गरिएका स्थानहरु दैजी, चादँनी र गड्डाचौकीमा इन्टरनेट सेवा तिव्र भएकाले सेवाग्राहीलाई राहत पुगेको उहाँको भनाई छ ।
जिल्लाको कृष्णपुर–२ वाणी, तिल्केनी, विष्णुमन्दिर तथा ढक्का, चान्देवमा एनटिसिको नेटवर्क कमजोर भएकाले नयाँ टावर जडान गर्ने योजना रहेको जानकारी दिनुभयो । ‘सेवाग्राही फास्ट इन्टरनेट सेवा पु¥याउन जिल्लाका सबै ठाउँमा अध्ययन गरिएको छ,’ उहाँले भन्नुभयो, ‘कमजोर क्षेत्रमा जडान तथा मर्मत कार्य तिव्र भइरहेको छ ।’
अहिले नेपाल टेलिकमले एनटी वाईफाई जिल्लाको सदरमुकाममा मात्रै छोडेको छ । यसको माग बढी भएकाले जिल्लाभरी नै यो सेवा पुर्याउन नेपाल टेलिकमले प्रयास गरिरहेको उहाँको भनाई छ । बेलौरीदेखि दैजीसम्म अप्टिकल फाइबर विछ्याउने कामलाई समेत नेपाल टेलिकमले प्रमुख प्राथमिकता साथ अघि बढाउने योजना बनाएको छ ।
११औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको चियापान कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले अहिले प्रतिस्पर्धा बढिरहेकाले नेपाल टेलिकमलाई गुणस्तरीय सेवा सुविधा दिन आग्रह गर्नुभयो । यसका साथै टेलिकमका कर्मचारीहरुले सेवाग्राहीका गुनासा तथा सुझावहरुलाई मध्यनजर गर्दै सेवा दिनुपर्नेमा जोड दिनुभयो ।
टेलिकमका कार्यालय प्रमुख जगदिश लेखकले महाकाली अञ्चलमा कुल ल्याण्डलाइन फोनको संख्या ८ हजार २ सय ३७ रहेकोमा कञ्चनपुरमा मात्रै ५ हजार एक सय ३२ रहेको तथ्यांक प्रस्तुत गर्नुभएको थियो ।
यस्तै, प्रिपेड र पोष्टपेड गरी महाकालीमा कुल २ लाख ६२ हजार ६ सय ७२ वितरण गरिएकोमा कञ्चनपुरमा मात्रै यसको प्रयोगकर्ता १ लाख २५ हजार २ सय ५४ रहेको बताइएको छ ।
सिडिएमए तर्फ महाकालीमा कुल ७२ हजार ५ सय रहेकोमा कञ्चनपुरमा २६ हजार ६ सय ७८ प्रयोगकर्ता रहेको कार्यालय प्रमुख लेखकले बताउनुभयो । कार्यक्रममा उपस्थित सहभागिहरुले नेपाल टलिकमले अन्य नेटवर्क भन्दा सस्तो तथा सुलभ सेवा दिनुपर्ने सुझाव दिएका थिए ।
















प्रतिक्रिया