
काठमाडौं, २६ माघ । नेपाल कम्युनिस्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितको २५ जना नेताले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई समर्थन दिन त्यहिँ जाने कार्यक्रम रद्द स्थगित भएको दाबी गरिएको छ ।
तर त्यहि भ्रमण दलमा रहेका राष्ट्रिय जनमोर्चाका एक जना नेताले भ्रमणको लक्ष्य सम्मेलनसहित मदुरोलाई समर्थन जनाउने पनि तयारी रहेको खुलासा गरेका छन् ।
यस्तो खुलासा उनले बीबीसी नेपाली सेवासँगको कुराकानीमा गरेका थिए । बीबीसीले लेखेको छ,‘राष्ट्रिय जनमोर्चाको किसान संगठन अध्यक्ष भैरव रेग्मीका अनुसार मदुरोलाई भेटेर राजनीतिक समर्थन दिने तयारी थियो । उनले भने– सम्मेलन हो तर मुख्य उद्देश्य राजनीतिक भेटघाट र ऐक्यबद्धता जनाउनका लागि जान लागेका हौं ।’
भेनेजुएला प्रकरणमा नेकपाले जारी गरेको विज्ञप्तिका कारण पार्टीभित्र दुई अध्यक्षबीच अहिले जुहारी चलिरहेको छ । खासगरी मदुरोको पक्षमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी हस्तक्षेपको निन्दा गर्दै विज्ञप्ति जारी गरेका थिए भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस प्रकरणमा चिप्लिएको प्रतिक्रिया जनाएका थिए ।
नेता नेपालसहितको टोली जाने विषय चलेको जनाउँदै बीबीस लेख्छ,‘तर उहाँले नजाने बताउनु भएको छ ।’
यो भ्रमणको नेतृत्व भने विवादीत बनेको प्रचण्डको विज्ञप्तिका खेस्रा तयार पारेको चर्चामा आएका नेता बलराम बास्कोटाले गरेको बताइएको छ । तत्कालका लागि त्यहाँको राजनीतिक समस्याका कारण भ्रमण स्थगित भएको उल्लेख पनि गरिएको छ ।
२२ देखि २७ फेब्रुअरीका लागि सम्मेलन र मदुरोसँग भेट हुने कार्यक्रम तय भएको थियो । सोही मौकामा नेकपाले मदुरोको कदमलाई ऐक्यबद्धता जनाउने कार्यक्रम थियो ।
भेनेजुएलामा राष्ट्रपति निकोलस मदुरो र विपक्षी नेता ह्वान गुएइदोबीचको संघर्षमा विश्व दुई धारमा बाँडिएको छ । नेकपाले मदुरोको पक्षमा वक्तव्य जारी गरेपछि नेपाल पनि विवादमा तानिएको थियो ।
एक वर्ष अगाडि गठन भएको इन्टरनेशनल एसेम्बेली अफ पिपल्स अर्गनाइजेशन अफ मुभमेन्टले गर्न लागेको कार्यक्रममा भाग लिनका लागि नेपाली कम्युनिस्ट नेता जान लागेका थिए ।
भ्रमण रोकिएको सन्दर्भमा भने परिस्थितिजन्य कारण भनी खुलाइएको छ ।















प्रतिक्रिया