काठमाडौँ, २२ माघ । एकीकृत नेकपा माओवादी विनाशको बाटोमा हिँडेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनुभएको छ । अध्यक्ष ओलीले विनाशको बाटो नहिँडी संविधान निर्माण कार्यमा संलग्न हुन एकीकृत नेकपा माओवादीलाई आग्रह गर्नुभयो ।
प्रेस चौतारी नेपालले विहीवार आफ्नो १७ औंँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो,“यो संविधानसभा संविधान नदिइकन घोसेमुन्टो लाएर असफल हुने छैन, यसो भन्दा कतिपयलाई रिस उठ्न सक्छ, अनि संविधान बनाउन खोज्ने अपराध गर्न पाइन्छ भन्ने आरोप लगाइन्छ, हामी त सहमतिका लागि लचिलो छौँ तर आफू नमिलीकन सहमति हुँदैन भन्ने जबर्जस्त सोच गलत छ ।”
हिंसा मात्रै सत्य र बाँकी जगत् मिथ्या ठान्ने एमाओवादीले देशमा हुँडलो र रक्तपात मच्चाउन आन्दोलनको धम्की दिएको आरोप लगाउँदै धम्की र भ्रमका भरमा राजनीतिमा लागेका ती दलका कार्यकर्तालाई आफ्नो पार्टीमा आएमा सम्मान र सुरक्षा दिने उद्घोष पनि उहाँले गर्नुभयो ।
ओलीले भन्नुभयो, “आवेशको ज्वरो चढेका पार्टीका साथीहरुलाई सिटामोल खान र पानीपट्टी लगाउन भन्छु, धेरै दाह्रा किट्यो भने बङ्गारा खिइन्छ, त्यस कारण मान्छेका टाउका फुटाउने र खुट्टा भाँच्ने उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रह गर्छु ।”
यही माघ ५ गते एमाओवादीका अध्यक्षसँग अत्यन्त सुमधुर कुरा भएको सन्दर्भ कोट्याउँदै उहाँले भन्नुभयो, “मैले त सहमति हुने विश्वास गरेको थिएँ, दिउँसोको मधुर मुस्कान त राति छातीमा माइक प्रहार गर्ने घटनामा परिणत भयो ।”
बाह्रबुँदे सहमति र बृहत् शान्ति सम्झौतामा संविधानसभा छाडेर बाहिर गएर आन्दोलन गर्ने सहमति नभएकोतर्फ ध्यानाकर्षण गराउँदै उहाँले सहमति र संविधान निर्माणको प्रक्रियामा आउन आग्रह गर्नुभयो ।
सो अवसरमा नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले दोस्रो संविधानसभाको निर्वाचनमा आफू सानो दल भएकै आधारमा एमाओवादीले संविधान निर्माणको प्रक्रियालाई रोक्नु लोकतान्त्रिक नहुने बताउँदै भन्नुभयो, “जनताको चाहना संविधान ल्याउनुपर्छ भन्ने छ, त्यसमा हामीले अब खेलबाड गर्न मिल्दैन, निर्वाचनको जनमत नै मान्ने हो भने हामीले शीघ्र संविधान दिन सक्नुपर्छ ।”
एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले एमाओवादी नेतृत्वको मोर्चा आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न संविधान बनाउन छाडेर बहिष्कार र तिरस्कार गर्दै पश्चगमन र घृणाको बाटो हिँड्न थाले पनि आफूहरुले भाग्न नदिने बताउनुभयो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले प्रेस जगत् तुलनात्मक रुपमा जिम्मेवार बन्दै गएको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका लागि सञ्चारगृहले चासो नदिएको गुनासो गर्नुभयो ।
यस्तै चौतारीका अध्यक्ष राजेन्द्र अर्याल, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, क्रान्तिकारी पत्रकार सङ्घका प्रतिनिधि सचिन रोक्का, सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मालगायतले यथाशीघ्र प्रेसमैत्री संविधान ल्याउन आग्रह गर्नुभयो ।















प्रतिक्रिया