काठमाडौँ, २२ माघ । नयाँ बानेश्वरकी एक महिला कर्मचारीलाई बस चढेर बालुवाटारस्थित आफ्नो कार्यालय पुग्नुपर्छ ।
बिहान ९ देखि अपरान्ह ४ बजेसम्म कार्यालय समय भएको हुँदा बसमा ठेलमठेल भिड भएकाले उहाँले जहिले पनि उभिएर यात्रा गर्नुपर्छ । उभिएर यात्रा गर्ने क्रममा उभिएरै यात्रा गर्ने पुरुषले नजानिँदो तरिकाले यौन दुव्र्यवहार गर्ने गरेको उनको भनाइ छ ।
“खास गरी बिहान र बेलुकाको कार्यालय जाने र आउने समय भएको हुँदा म चढ्ने गाडीमा ठेलमठेल भिड भएको हुन्छ, त्यही मौका छोपेर सँगै यात्रा गर्ने पुरुषहरुले नजानिँदो तरीकाले संबेदनशील अङ्गमा हात लैजाने गर्छन्”–उहाँले भन्नुभयो ।
त्यसैगरी ललितपुरस्थित गैरसरकारी संस्थामा काम गर्ने एक कर्मचारी भृकुटीमण्डपबाट माइक्रोबसमा कार्यालय जाने आउने गर्नुपर्छ । त्यही क्रममा कतिपय पुरुष यात्रीले यौन दुव्र्यवहार गर्ने गरेको अनुभव छ उहाँसँग ।
“कार्यालय जसरी पनि समयमै पुग्नुपर्ने हुन्छ, यसमा भिड रहेछ, अर्कामा जानुपर्ला भन्यो, अर्को पनि उस्तै भिड गरी आएको हुन्छ, त्यही भिडमा पुरुषहरुले जानीजानी नै यौन दुव्र्यवहार गर्ने गर्छन्”–उहाँले भन्नुभयो ।
अन्तर्राष्ट्रिय सुरक्षित सहर अभियानअन्तर्गत सार्वजनिक स्थान तथा यातायातमा हुने महिला यौन दुव्र्यवहारविरुद्ध युवाद्वारा सञ्चालित अभियानले सार्वजनिक यातायातमा हुने यौन दुव्र्यवहार बढ्दै गएको जनाएको छ ।
यता डान्स रेस्टुरेन्ट बारजस्ता कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रण गर्न जारी गरिएको निर्देशिका २०६५ को प्रभावकारी कार्यान्वयन हुन नसक्दा आफूहरुमाथि यौन शोषण भएको त्यस क्षेत्रमा काम गर्ने महिला कामदारले बताउँदै आएका छन् । रासस















प्रतिक्रिया