४ कार्तिक २०८३, बुधबार

सांसदहरूलाई रिसोर्टमा भत्तासहित अमेरिकन ‘एनडिआई’को भोजभतेर

6.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विमल योगी

काठमाडौं, २० माघ । प्रतिनिधि सभा र राष्ट्रिय सभाका समितिहरूमा एनजिओ र आइएनजिओहरूको प्रवेश शुरु भैसकेको छ ।

संविधान सभाका बेला विशेदीहरूको इच्छाअनुसार काम भएको भन्दै सांसदहरूको आलोचना भएका थिए । एनजिओहरूकै कारण पहिलो संविधान सभाले काम गर्न नसकेको आरोप छ । दोस्रो संविधान सभामा पनि एनजिओको ठूलो प्रभाव रहेको थियो ।

नयाँ संविधान आएपछि भएको निर्वाचनबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले झण्डै दुई तिहाइ बहुमत पाएको छ । नेकपाको बलियो सरकार छ । तैपनि नेकपाको सरकारलाई अफ्ठ्यारो बनाउने गरेर एनजिओ र आइएनजिओहरूले भित्रभित्रै गोप्य योजनाका साथ संसदीय समितिहरूमा प्रवश गर्न थालेका छन् ।

अहिलेको कम्युनिस्ट सरकारले नयाँ संविधानअनुसार थुप्रै ऐन, कानून र विधेयकहरू पास गर्नुपर्ने दायित्व छ । यस्तो अवस्थामा फेरि विदेशी संस्थाहरूले सांसदहरूलाई प्रलोभनमा पार्न थालेका छन् ।

दुई दिन अगाडि राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिका सदस्यहरूलाई अमेरिकाको लगानी रहेको एउटा आइएनजिओले ललितपुरको गोदावरीमा लगेर प्रशिक्षण दिएको छ । अमेरिकनहरूको योजना अनुसार राष्ट्रिय सभाका सांसदहरूलाई गोप्य रुपमा रिसोर्टमा लगेर प्रशिक्षण दिइएको छ । प्रशिक्षाण के विषयमा दिइएको थियो सांसदहरूले केही बताउन मानेका छैनन् ।

गोदावरीको एक रिसोर्टमा नेशनल डेमोक्रेटिक इन्स्च्यिुट (एनडिआई) नामक आइएनजिओले राष्ट्रिय सभाका सांसदहरूलाई आवासीयसहित नगद भत्ता दिएर तालिम दिएको स्रोतले जनाएको छ ।

सांसदहरूलाई संविधानअनुसार धेरै कानून बनाउनु पर्ने र ती कानूनहरू बनाउँदा अन्तर्राष्ट्रिय कानूनहरूसँग नजुध्ने गरेर बनाउन एनडिआइका प्रशिक्षकहरूले प्रशिक्षण दिएका थिए । ‘नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेका सम्झौता, सहमति र अन्तर्राष्ट्रिय कानूनसँग नजुध्ने गरेर ऐन कानून बनाउनुपर्छ भनेर प्रशिक्षण दिएका थिए’, एकजना सांसदले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘एनडिआइको उदेश्य नेपालको कानूनहरू बनाउँदा अमेरिकाले चाहेअनुसार होस भन्ने देखिएको थियो ।’

दुई वटा संविधान सभामा अमेरिकन एनजिओ एनडिआइले सांसदहरूलाई भड्काएर ठूलो विवाद ल्याएको अहिले पनि चर्चा हुने गरेको छ । एनडिआइले फेरि आफ्नो गतिविधिलाई सक्रिय बनाएको छ । एनडिआइले राष्ट्रिय सभाकै एकजना सचिवलाई स्कलरशिप दिएर चार महिना अमेरिकामा लगेर अध्ययन समेत गराएको थियो । स्रोतले भन्यो, ‘एनडिआइले राष्ट्रिय सभाका एकजना सचिवलाई अमेरिका लगेर चार महिनासम्म प्रशिक्षण दिएर पठाएको छ । सायद उहाँकै कारण सांसदहरूलाई अमेरिकनहरूले प्रभावमा पार्न थालेको हुनुपर्छ ।’

राष्ट्रिय सभा र प्रतिनिधि सभामा विधायन व्यवस्थापन समिति महत्वपूर्ण समितिमा पर्छ । विधानय समितिमा सबै विधेयकहरूको छलफल भएर पूर्ण आकार दिइने गरिन्छ ।

विदेश राष्ट्रहरूले यस्ता महत्वपूर्ण समिति र त्यसका सदस्य एवम् सांसदहरूलाई प्रभावमा पार्न गतिविधि सक्रिय बनाएका छन् ।

विधान व्यवस्थान समितिको सभापति तत्कालीन एमाले पृष्ठभूमि भएका सांसद पर्शुराम मेघी गुरुङ छन् । रिसोर्टमा भएको आइएनजिओको भत्तासहितको आवासीय कार्यक्रमका बारेमा जानकारी लिन सम्पर्क गर्दा सभापति गुरुङले फोन उठाएनन् ।

अमेरिकन आइएनजिओ एनडिआइले सबै सांसदहरूलाई भत्तासहितको आवासीय कार्यक्रमका लागि निम्तो दिएपनि केही सांसदरू गएका थिएनन् । पूर्वमाओवादी नेता खिमलाल देवकोटाले पनि सांसदहरूलाई प्रशिक्षण दिएका थिए ।

समितिको सदस्यहरूमा अनिता देवकोटा, उदया शर्मा पौडेल, जितेन्द्र नारायण देव, ठगेन्द्र प्रकाश पुरी, नन्दा चपाई, बद्रीप्रसाद पाण्डे, मीना बुढा, यूटोल तामाङ, रामलखन चमार, वृषेशचन्द्र लाल, शेरबहादुर कुँवर, सिंगबहादुर विश्वकर्मा र हरिचरण शिवाकोटी रहेका छन् ।