९ कार्तिक २०८३, सोमबार

समाजकल्याणमा पदाधिकारीको ब्रह्‍मलुट

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । समाज कल्याण परिषद् कार्यालयको भित्तामा लेखिएको छ– मन, वचन र कर्मले सेवा गरौं। सामाजिक सेवा गर्न भनेरै परिषद् स्थापना गरिएको हो। तर यसको नेतृत्व गर्नेहरूले भने आफ्नो सेवामा स्रोतसाधन खर्चिरहेका छन्। संस्थाको हित बिर्सेर सुविधामा ब्रह्‍मलुट मञ्चाइरहेका छन्। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

परिषद्का पदाधिकारीले गाडी खरिददेखि कर्मचारी भर्ना र सेवा सुविधा तोक्नेसम्मका काममा आफ्नै हात जगन्नाथ गरिरहेका छन्। अन्नपूर्णको खोजबिनमा उनीहरूले नियमविपरीत र संस्थालाई व्ययभार बढाउने गरी सुविधा लिइरहेको पाइएको छ।

०७३ सालमा परिषद्मा नयाँ पदाधिकारी चयन भएका थिए। तत्कालीन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सीपी मैनालीले उपाध्यक्षमा नीलमणि बराल, सदस्य सचिवमा डिल्ली भट्ट, कोषाध्यक्षमा वीरबहादुर ठगुन्ना, र इन्द्रकुमार झा नियुक्त गरे। पुष्पकमल दाहाल सरकारको पालमा सदस्य गोकर्ण भट्ट नियुक्त भए।

यी पदाधिकारीले परिषद् छिर्नेबित्तिकै तीन वटा स्कोर्पियो गाडी किने। एउटैका लागि ६९ लाख रुपैयाँ तिरियो। त्यसअघि परिषद्सँग एउटै गाडी थिएन। अन्य संस्थासँग मागेर काम चलाउन उचित नभएकोले गाडी किनिएको पदाधिकारीको तर्क छ। गाडीखरिद संगै ड्राइभर र पिए पनि नियुक्त गरे। एनजीओको कार्यक्रममा जाँदा हामी हेपिने स्थिति भयो भन्ने तर्क प्रस्तुत गर्दै उनीहरु कर्मचारीबाट निर्णय स्वीकृत गराएर पैसा निकाल्न सफल भए। अहिले उक्त गाडी व्यक्तिगत काममा दुरुपयोग गरिरहेका छन्। ‘पदाधिकारीको यस्तो सुविधाभोगी क्रियाकलापले खर्च मात्रै बढेको छ,’ परिषद्का एक प्रशासकले अन्नपूर्णसँग भने। ती गाडी उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सचिवले प्रयोग गरिरहेका छन्।

परिषद्को कार्यसञ्चालन समितिमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री, उपाध्यक्ष कोषाध्यक्ष र सदस्य सचिव रहने व्यवस्था छ। परिषद्को जग्गा भाडामा लगाउनेदेखि स्रोत परिचालन गर्नेसम्मका काम यो समितिले एकलौटी गर्दछ। कार्यसञ्चालन समितिले गरेको निर्णय बोर्डबाट अनुमोदन गर्ने प्रावधान छ। तर समितिले गरेका निर्णयमा बोर्डमा कुनै छलफल हुँदैन। सरासर पारित हुन्छ। ‘कार्यसञ्चालन समितिबाट निर्णय गरी उनीहरूले काम गर्छन्। हामीले त्यसको सरासर कार्यान्वयन गर्नेबाहेक केही गर्न सक्दैनौं,’ परिषद्का प्रवक्ता हरि तिवारीले भने।

पदाधिकारीले आफन्तलाई जागिर लगाएका छन्। स्थायी परीक्षामा पास गर्न नसकेका र विदा गरिएका कर्मचारीलाई भर्ना गरिएको छ। १३ वर्षदेखि काम गरेका पियनदेखि अधिकृतसम्मका कर्मचारीलाई परिषद्ले सुविधा सहित विदा गरेको थियो। त्यसका लागि ७२ लाख रुपैयाँ व्ययभार परेको थियो। तर पदाधिकारीले विदा गरिएकामध्ये आफू निकटका कार्यकर्ता खोज्दै भर्ना गरेको स्रोतले बतायो। कोषाध्यक्ष वीरबहादुर ठगुन्नाले छोरी उर्मिला ठगुन्ना र ज्वाइँ परिषद्मा नासुको रुपमा छिराएका छन्। निलमणि बरालले बालिका थापालाई खरिदारको रुपमा भर्ना गरेका छन्।