२८ आश्विन २०८३, बुधबार

मधेसको विकासका लागि सरकारले काम अघि बढाएको छ : प्रधानमन्त्री ओली

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिराहा, १९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको विकासका लागि सरकारले विभिन्न क्षेत्रमा काम अघि बढाएको बताएका छन् ।

शहीद हेमनारायण यादवको १५ औं स्मृतिसभालाई शनिबार सिराहामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मधेसका बारेमा विभिन्न हल्ला चलाइएपनि सरकारका कामले ती सबै कुराको जवाफ दिने बताए ।

‘मधेसका बारेमा अनेक हल्ला चलाइएका छन् तर, सरकारको कामले ती सबै कुराको जवाफ दिन्छ’, ओलीले भने, ‘हुलाकी सडकको निमार्ण, भैरवहा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, तराई मधेस समृद्धि कार्यक्रम सबै तराईकै विकासका लागि सञ्चालन भएका हुन् । केहिदिन अघि झापा विमानस्थलमा रात्रीकालिन उडान सेवा सुरु भएको छ । जनकपुरमा केही महिनामा यस्तो सेवा सुरु हुदैछ ।’

प्रधानमन्त्री ओलीले मधेसलाई काठमाडौंसँग जोड्ने द्रुत मार्ग, निजगढ विमानस्थल, कमला मरिन डाइभर्सनबाट तराईलाई सिचाईं गर्ने योजनाका कामहरु धमाधम भइरहेको बताए । यसैगरी तराईका जिल्लाका सदरमुकाम जोड्ने सडकहरुको स्तर वृद्धिका लागि आफू अघिल्लो पटक प्रधानमन्त्री भएका बेला सुरुवात गरिएको र अहिले काम धमाधम भइरहेको प्रधानमन्त्री ओलीले प्रष्ट पारे ।

तराईको भौतिक विकास मात्र होइन सामाजिक विकासका लागि पनि आफू क्रियाशिल रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘यस जिल्लाबाट निरक्षरता उन्मुलन गर्नका लागि मैले नै पहलकदमी लिएको छु’, ओलीले भने, ‘त्यसका लागि गत बैशाख ५ गते यसै जिल्लाका दुई जना बालबालिकालाई विद्यालय भर्ना गरेर मैले अभिभावकत्व पनि ग्रहण गरेको छु ।’

सिराहामा आयोजित कार्यक्रमका सहभागीहरु । तस्वीर : प्रधानमन्त्रीको सचिवालय

प्रधानमन्त्री ओलीले वृद्धवृद्धाका हितका लागि सरकार सकारात्मक रहेको पनि बताए । अघिल्लो सरकारले देशको ढुकुटी रित्तो पारेकोले अघिल्लो आर्थिक बर्षमा वृद्धभत्ता बढाउन नसकेको प्रधानमन्त्रीको भनाइ छ । ‘वृद्धभत्ता बढेन भनेर निरास हुनुपर्ने अब धेर दिन छैन’ उनले भने, ‘आउने आर्थिक वर्षमा वृद्धभत्ता अवश्य बढ्छ । सरकारले बढाउने छ ।’

२०६० साल माघ १९ गते तत्कालिन नेकपा (एमाले) सिराहा जिल्लाका अध्यक्ष एवं सांसद हेमनारयण यादवको धनुषा र सिराहाको सिमाना पर्ने कमला खोलामा रहस्यमय हत्या भएको थियो ।

प्रधानमन्त्री ओलीले आजै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला पार्टी कार्यलयको शिलान्यास गरेका छन् । यसैगरी, आजै चन्द्र माध्यमिक विद्यालय सिराहा नगरपालिका १ मा छात्रावास भवनको पनि प्रधानमन्त्री ओलीले शिलान्यास गरे ।