
काठमाडौँ, १४ माघ । पोलिमर नोट प्रकरणका मुख्य योजनाकार भनिएका हिमालयबहादुर पाँडे आठ लाख रुपैयाँ धरौटीमा छुटेका छन् । पोलिमर नोट घोटाला प्रकरणमा सोमबार विशेष अदालतमा उपस्थित भएका पाँडेसँग आठ लाख रुपैयाँ धरौटी माग भएको विशेष अदालतका रजिष्ट्रार भिमकुमार श्रेष्ठले जानकारी दिए । अदालतले मागेको धरौटी बुझाएर उनी रहा भएका हुन् ।
विशेषका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्य न्यायाधीश रत्नबहादुर बागचन्द र सदस्य न्यायाधीश चण्डीराज ढकालको इजलासले पाँडेलाई धरौटीमा छाड्ने आदेश गरेको हो । यसअघि तत्कालीन गर्भनर तिलक रावल १० लाख धरौटी बुझाएर रिहा भएका थिए । विशेष अदालतमा गत सोमबार भएको थुनछेक बहसपछि धरौटी माग भएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पुस २०७५ मा रावलसहित नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौडयाल र स्थानीय एजेन्ट हिमालयबहादुर पाँडेविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । आयोगले तीनजना प्रतिवादीसँग जनही ९१ लाख रुपैयाँ बिगो मागदाबी सहित मुद्दा दर्ता गरेको थियो ।
नेपाल राष्ट्र बैंकबाट अष्ट्रेलियामा १० रुपैयाँको ५ करोड थान पोलिमर नोट छपाई गरिँदा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको, नोट प्रिन्टिङ अष्ट्रेलियासँग गैर कानुनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको उजुरीको अनुसन्धानमा तीनजना दोषी देखिएका थिए ।















प्रतिक्रिया