४ कार्तिक २०८३, बुधबार

नवलपुर महोत्सवमा हेलिकप्टरबाट जिल्लाको प्रत्यक्ष अवलोकन

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-बिजय चालिसे

कावासोती, ११ माघ । माघ १७ गतेबाट कावासोतीमा शुरु हुने पाँचौ नवलपुर महोत्सवमा हेलिकप्टरमा चढेर समग्र नवलपुर जिल्लाको अवलोकन गर्न पाइने भएको छ ।

महोत्सवका विषयमा जानकारी दिन महोत्सवस्थलमा आज गरिएको पत्रकार सम्मेलनमा आयोजक नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेलले यस पटक महोत्सवको आकर्षणका रुपमा हेलिकप्टमा बसेर समग्र जिल्लाको अवलोकन गर्न पाइने व्यवस्था रहेको बताए ।

महोत्सवको तयारी पनि व्यापक बनाइएको उनले बताए । तयारी अनुसार महोत्सवस्थल प्रवेशद्वार निर्माणको काम सम्पन्न भएको छ भने स्टल निर्माण, पानीको व्यवस्थापन, हिमाल पहाड तराईको झल्को दिने आकृती निर्माणको काम धमाधम चलिरहेको छ ।

माघ १७ गते देखि २७ गते सम्म हुने महोत्सवमा स्थानीय उत्पादनको प्रर्वद्धन, कला, संस्कृतिको प्रर्वद्धन, नवलपुरका पर्यटकीय क्षेत्रको प्रर्वद्धनमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ । यस्तै महोत्सव अवधिभर संचार माध्यमलाई समाचार तथा सूचना सम्पे्रषणमा सहयोग पुगोस भनेर पत्रकारकारहरुका लागि महोत्सवस्थलमा वाईफाई जोनको व्यवस्था गरिएको अध्यक्ष पोखरेलले बताए ।

समग्र जिल्लाको कला संस्कृतिको पहिचान झल्काउने गरि महोत्सव स्थलमा विभिन्न जातजातिका पुख्र्यौली घरहरु निमार्ण कार्य भैरहेको अध्यक्ष पोखरेलले बताए । महोत्सवमा यसपटक छिमेकी राष्ट्र भारतबाट पनि केहि व्यापारिक स्टल आउने आयोजकले बताएको छ । अध्यक्ष पोखरेलले महोत्सव अवधिभर समाचार र सूचना संकलन गरि महोत्सवलाई सफल पार्न जिल्लामा क्रियाशिल सबै सञ्चारमाध्यम र पत्रकारहरुलाई आग्रह गरे ।

महोत्सवमा स्टल बुकिङको कर्य पनि अन्तिम चरणमा पुगेको छ । पूर्वपश्चिम राजमार्गको थकाली चोकबाट उत्तरतर्फ कावासोती नगरपालिका ३ राममन्दिरस्थित खुल्ला मैदानमा हुन लागेको महोत्सवमा स्टल बुकिङको कार्य अन्तिम चरणमा पुगेको स्टल संयोजक सागर पोखरेलले जानकारी दिए । २ सय ८० वटा स्टल रहने महोत्सवमा अब जम्मा ३६ वटा स्टल मात्रै बाँकी रहेको र १÷२ दिन भित्रै त्यो पनि बुकिङ भैसक्ने उनले बताए ।

बुकिङ भएका मध्ये अधिकांश हस्तकलाका स्टलहरु रहेको आयोजकले जनाएको छ । नवलपुर महोत्सव व्यापक बनाउन आयोजकको एक टोली गण्डकी प्रदेश र ५ नम्बर प्रदेशका विभिन्न स्थानमा प्रचार प्रसारमा पुगेर फर्किएको छ । महोत्सवमा गण्डकी र ५ नम्बर प्रदेशका विभिन्न स्थानहरुबाट व्यापारिक स्टलहरु आउने स्टल संयोजक पोखरेलको दावी छ ।

महोत्सव अवधिभर ७ करोड रुपैयाँको आर्थिक कारोवार गर्ने लक्ष्य लिएको आयोजकले ३ लाख ५० हजार बढी दर्शकहरुले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा लिएको छ । महोत्सवको उद्घाटन उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल गर्नेछन् ।