महेन्द्रनगर, २१ माघ । आमाबुवाका लागि छोराछोरी बुढेसकालका सहारा हुन् । त्यही आशमा दुःखसुख गरी छोराछोरीलाई हुर्काएका हुन्छन् ।
तर कञ्चनपुरमा एक परिवारले आमालाई कुटपिट गरेर घरबाट निकालेको छ । छोरा–बुहारी दुवै मिलेर पहिले कुटे, त्यसपछि घरबाट निकालिइदिए । ती आमाले नसोचेको भयो । कस्तो दिन देख्नुपर्यो । जुन छोराको आशमा बाँचेकी थिईन् त्यही छोराले लात्ती हान्यो ।
कञ्चनपुरको बेल्डाँडी गाविस खैरीघाटकी ७५ वर्षीया गङ्गादेवी विष्टलाई तीन महिनाअघि कुटपिट गरी घरबाट निकालिएको थियो । तीन महिनाअघि छोरा, बुहारी र नातिले कुटपिट गरी घरबाट निकाला गरेपछि उहाँ वनखेतस्थित महिला तथा वृद्धा सेवाकेन्द्रमा आश्रय लिएर बस्नुभएको छ ।
सेवा केन्द्रको सहयोगमा उहाँले कुटपिटमा संलग्न छोरा, बुहारीविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिनुभएको छ । झन्डै १२ वर्षअघि श्रीमान् बितेपछि गालीगलौज र कुटपिट गर्दै घरबाट निकाला गरिएको उहाँ बताउनुहुन्छ ।
यसअघि घरबाट निकाला गरिएकी उहाँलाई तत्कालीन प्रमुख जिल्ला अधिकारी हेमनाथ दवाडीले घरमा पुनःस्थापना गरेका थिए । त्यसअघि उहाँ दुई वर्षसम्म निरन्तर वृद्धाश्रममा बस्नुभएको थियो ।
प्रशासनले पुनःस्थापना गरेपछि गालीगलौज गर्दै आएका छोरा बुहारीले तीन महिनाअघि कुटपिट गरेका थिए । घरमा बस्न नदिने भन्दै निकाला गरेपछि उहाँ आश्रममा आउनुभएको हो । उहाँले माइलो छोराको परिवारले गालीगलौज र कुटपिट गरी निकालिएको बताउनुभयो ।
चार छोराकी आमा विष्टका नाति नेपाली सेनामा कार्यरत छन् । प्रहरीले कुटपिटमा संलग्न छोरालाई पक्राउ गरी हिरासतमा राखेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्णबहादुर बमले विष्टको उजुरीका आधारमा छोरालाई पक्राउ गरिएको बताउनुभयो । यस्ता छोरालाई हदैसम्म कारवाही गरी समाजको परम्परा कायम राख्न जरुरी छ ।















प्रतिक्रिया