४ कार्तिक २०८३, बुधबार

नेवि संघ अध्यक्षका लागि कांग्रेसका कुन नेताको खल्तीमा कसको तस्बिर ?

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ ।  विहीबार बस्ने केन्द्रीय समितिको बैठकको मुख्य एजेन्डा बनेको नेपाल विद्यार्थी संघको नयाँ नेतृत्वका विषयमा कांग्रेस नेताले खल्तीमा आफ्ना उम्मेदवारको तस्बिर तयार पारेका छन् ।

२ माघदेखि नेवि संघ केन्द्रीय कार्यसमितिको म्याद सकिएको छ । अब तदर्थ समिति बनाउने कि म्याद थपेर महाधिवेशनमा जाने भन्ने विषयको निर्णयका लागि केन्द्रीय समिति बस्न लागेको छ ।

केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य र पूर्वपदाधिकारीहरूको नाम कोटका खल्तीमा राखेर नेता बैठकमा बस्दैछन् । नेवि संघ अध्यक्ष नैनसिंह महर अहिले महाधिवेशन गराउने समय थपेर पद टिकाउने दौडमा बुढानिलकण्ठमा सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवासँग लम्पसार परेका छन् भने अन्यको पनि आफ्नै दाउ छ ।

महर नेतृत्वको नेविसंघको कार्य समितिमै रहेका र एउटै प्यानलबाट पदाधिकारीमा जितेकाहरू समेत यतिवेला महरलाई खुइल्याएर आफू अब्बल नेता बन्ने प्रयासमा छन् ।

पार्टीले तदर्थ समिति गठन गर्ला र आफूले नै त्यस्तो समितिको नेतृत्व गर्न पाए महाधिवेशन गराएर देखाउने र आगामी चैत महिनामा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सफलता हासिल गर्न गराउन सक्ने दाबीका साथ पार्टी सभापति शेरबहादुर देउवा निकटका गुटदेखि वरिष्ठ नेता रामचन्द्र पौडेलनिकटका विद्यार्थी पनि दौडधुपमा लागेका हुन् ।

२०७५ मंसिर २ गतेको बैठकको निर्णयबाट थप गरिएको २ महिनाको पदावधि माघ २ गते सम्म थियो । यसअघि पनि पार्टीले गत भदौ २ मा सकिएको नेविसंघको म्याद तीन महिना अर्थात् मंसिर २ गतेसम्म थपिएको थियो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ माघ १० गते बस्ने बैठकले निर्णय म्याद गुज्रिएको महर नेतृत्वको नेविसंघलाई के गर्ने भनेर निर्णय नगरेसम्म महरलाई नै नेविसंघको अध्यक्षको रुपमा काम गर्ने अधिकार प्रदान गरिएको थियो ।

एउटै प्यानलबाट निर्वाचन लडेर चुनाव पनि जितेका उपसभापति पुष्पकुमार शाही, महामन्त्री सरोज थापा र सहायक महामन्त्री प्रेमराज जोशी यतिवेला महरको कट्टर विरोधी भएर निस्किएका छन् । शाही सभापति देउवा पत्नी डा. आरुजु राणाको विश्वासमा सभापतिको टिका लगाउन चाहन्छन् भने महामन्त्री सरोजकुमार थापा उपसभापति विमलेन्द्र निधिको संरक्षणमा नेविसंघको अध्यक्ष हुन चाहन्छन् ।

अर्का सहायक महामन्त्री प्रेमराज जोशी भने सहमहामन्त्री डा. प्रकाशशरण महतको सिफारिसमा नेवि संघको अध्यक्ष बन्न चाहन्छन् । कांग्रेस संसदीय दलका प्रमूख सचेतक बालकृष्ण खाँडको सिफारिसमा भने अर्का सहममहामन्त्री प्रकाश घिमिरे संयोजक बन्न चाहन्छन् ।

११ औं महाधिवेशनमा महरसँग प्रतिष्पर्धामा उत्रिएका मनोजमणी आचार्य, महामन्त्रीमा प्रतिष्पर्धा गरेर कुन्दनराज काफ्ले र सरोज थापासँग पराजित भएका हिमालदत्त श्रेष्ठ र दीपक भट्टराई पनि अध्यक्षका दाबेदार भएर निस्किएका छन् । उनीहरूले टिके प्रथालाई प्रश्रय दिनु भन्दा महाधिवेशन तर्फ लाग्नु नै उचित हुने भन्दै महर नेतृत्वको नेविसंघ केन्द्रीय कार्य समितिबाट पछि हट्ने पक्षमा देखिएका छैनन् । देउवा पक्षधर आठ पदाधिकारी र वरिष्ठ नेता पौडेल पक्षधर २ पदाधिकारीसहित ४५ जनाले क्रमश देउवा र पौडेललाई राजिनामा बुझाएका छन् ।

महामन्त्री सरोज थापा कार्यकालको उत्तरार्धमा आएर नेवि संघका अध्यक्ष नैनसिंह महरविरुद्ध खुलेर लागेका छन् । उनले आगामी माघ १० गते पहिले कुनैपनि गतिविधि गरे अनपेक्षित कारबाही हुने चेतावनी समेत दिएर असहिष्णु राजनीतिको उदाहरण प्रस्तुत गरिदिएका छन् ।

नेविसंघका काठमाडौं जिल्ला अध्यक्ष मनोज वैद्यले आगामी १० गतेभित्र संघका सभापति महरलाई संगठनको बारेमा कुनै पनि काम नगर्न चेतावनी दिएका छन् । उनले थपिएको समयमा पनि महाधिवेशन गर्न नसक्नेले अब माघ १० गतेसम्म काम गरेको फेला पारिएको खण्डमा खतरा हुनेछ भने चेतावनी पनि दिए । बैद्यले तदर्थ समितिभन्दा बाहिर अर्को निर्णय भएमा पार्टी कार्यालयमा हजारौं विद्यार्थीहरूको जुलुस लगेर घेर्ने चेतावनी दिएका छन् ।

यता, महाधिवेशनको माहौल नेवि संघको म्याद थपेपछि मात्र बन्ने नत्र टिका लगाए अघिल्लो पटक रञ्जित कर्णले लामो समयसम्म पदमै बसेको रोग लाग्ने बताउँछन् कतिपय आकांक्षी । अझ नेवि संघमा ३२ बर्षको उमेरसीमा कायम गरिएका कारणले बुढा नेता टिको लगाउने तयारीमा रहेका छन् । ‘महाधिवेशनको मिति तोकेर यहि नेतृत्वलाई अघि बढाएको खण्डमा राम्रो हुन्छ’, केन्द्रीय सदस्य नवराज त्रिपाठीले भने,‘अन्यथा फेरि अन्योल हुनसक्छ ।’