काठमाडौँ, २० माघ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरुले प्रक्रियामा गएर विपक्षी दलहरुलाई पेल्न खोजेकाले बाध्य भएर आन्दोलनमा उत्र्नु परेको बताउनुभएको छ ।
‘सहमतिका आधारमा संविधान जारी गर्न नचाहने प्रवृत्ति हाबी भएका कारण’ बाध्य भएर जनपरिचालन गर्ने निर्णयमा पुग्नुपरेको बताउनुभएको हो ।
एमाओवादीको सहायक सङ्गठन योङ कम्युनिस्ट लिग वाइसिएलको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले दलबीच भएको बाह्रबुँदे सम्झौता, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षबीच भएको सहमतिलाई अक्षरशः कार्यान्वयन गर्न सत्तारुढ दल तयार भएर सहमतिमा संविधान जारी गर्ने सम्भावना रहेको तर त्यसका लागि यही माघ ११ गते संविधानसभाले गरेको निर्णय सच्याउनुपर्ने बताउनुभयो ।
संविधानसभामा अल्पमत तथा बहुमत नहुने भए पनि नेपाली काँग्रेस र नेकपा एमालेले जबर्जस्ती गरेको उहाँको आरोप थियो ।
जनयुद्ध, जनआन्दोलन लगायत आन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा पैदा भएको विचार व्यक्त गर्दै उहाँले ‘विभिन्न आन्दोलनका क्रममा सहिद, बेपत्ता तथा घाइते भएकालाई अपमान गर्ने, उनीहरुको योगदानविरुद्ध जाने क्रम सत्ताधारी दलका नेताबाट सुरु भएकाले’ फेरि एक पटक त्यो वर्गलाई आन्दोलनमा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।
पद र प्रतिष्ठा खोज्नेभन्दा पनि जनताको अधिकार स्थापित गर्ने अभियानमा लाग्नुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले संविधान निर्माणमा सहमति हुन नसक्नाको कारणबारे जनतालाई बुझाउनुपर्ने धारणा राख्नुभयो ।















प्रतिक्रिया