
काठमाडौं, ४ माघ । विवादमा तानिएकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा स्पष्टीकरणका लागि एक महिना काठमाडौंमा बसिन् ।
ड्राइभर बनाएर अस्ट्रेलिया पुराएका वाङ्छु शेर्पाले उनलाई मानव तस्करको आरोप लगाएपछि त्यसबारेका केही तथ्यगत विवरणहरू सार्वजनिक भएका थिए । त्यसपछि परराष्ट्र मन्त्रालयले उनलाई स्पष्टीकरणका लागि काठमाडौं झिकाएको थियो ।
परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीका तारन्तारका विदेश भ्रमण, परराष्ट्र सचिव शंकरदास बैरागीका पनि भ्रमण र कार्य व्यस्तताका कारण उनीबारेको अनुसन्धान केही ढिलो गरी मात्र भएको थियो । यसबीचमा माओवादी कोटामा राजदूत पाएकी लक्कीले राजनीतिक दलका नेतालाई भेट्ने र आफू अनुकुलतामा निर्णय गराउने मौका पाइन् ।
काठमाडौंमा रहेका बेला नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनले चार पटक भेटेकी थिइन् । उनलाई कारबाहीको चर्चा चलिरहेका बेला प्रचण्ड परिवारका सदस्यसँग उनको दिनहुँजसो खुमलटारनिवासमा कुराकानी हुन्थ्यो, नेकपा भित्रका माओवादी कित्ताका नेतासँग पनि भलाकुसारी राम्रै जमेको उच्च स्रोतले जनाएको छ ।
उनले प्रचण्डसँगका भेटमा आफ्नो गल्ती नभएको र केही समयमात्र कार्यकाल बाँकी रहेका कारणले कारबाहीमा नपार्नका लागि आग्रह गरेकी थिइन् । माओवादी समर्थनमा रहेको कांग्रेस सभापति शेरबहादुर देउवा सरकारका पालामा लक्कीको नियुक्ति भएको थियो । उनी माओवादी कोटामा परेकी थिइन् ।
‘उनका गल्तीका विषयमा परराष्ट्र मन्त्रालय निर्णयमा पुग्न नसकेका कारण तत्काल उनले राजीनामा दिने या कारबाही गर्ने भन्ने विषय अन्योल बन्यो, उनले राजनीतिक दलका शीर्ष नेतासँग भेट गरी खेल्न पाइन्’, उच्च स्रोतले भन्यो ।
पुसको अन्तिम साता प्रचण्डसहित बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको भेट भएको थियो । उक्त भेटका क्रममा आफूबारे आएका हल्लाका विषयमा ‘ब्रिफिङ’ गरेकी थिइन् । ब्रिफिङमा प्रचण्ड र ओलीलाई रिझाउन सफल भई उनी अस्ट्रेलिया फर्किसकेकी छन् । परराष्ट्र मन्त्रालयले लक्कीबारे अहिले कुनै निर्णय भइनसकेको जनाएको छ ।
दूतावासको आवासमा आराम
लक्कीले अहिले दूतावास फर्किएर काम भने गरेकी छैनन् । उनी आवासमा आराम गरिरहेकी छन् । उनले दैनिक प्रशासनिक काममा ध्यान दिएकी छैनन् ।
अस्ट्रेलियामा रहेका नेपाली समुदायले उनको कामका बारेमा खरो आलोचना गर्दै आएका थिए । उनी काममा फर्किएकी हुन् वा व्यवस्थापन मिलाएर राजीनामा दिने मुडमा पुगेकी हुन् त्यो भने खुल्न नसकेको बताइन्छ ।















प्रतिक्रिया