चितवन, २० माघ । वेचविखनका लागि भारतको वेश्यालय लैजान लागिएका १२ वालिकाको प्रहरीले उद्दार गरेको छ । घरपरिवारलाई थाहा नदिएर दलालको प्रलोभनमा सीमा चेकपोष्ट पुगेका उनीहरुलाई प्रहरीले सोधपुछ गर्दा वेचिन लागेको थाहा पाइएको थियो ।
भारत लैजान लागिएको अवस्थामा चितवनको भरतपुरबाट प्रहरीले शङ्कास्पदरुपमा १२ बालबालिका भेटेर आदर्शगृह पठाएको छ । आफ्नै अभिभावकसहित तीन व्यक्तिले ती बालबालिकालाई भारत लैजान लागेको बताएकाले शङ्कास्पद घटना देखेर अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।
ती तीनजना केही बालबालिकाका आफ्नै अभिभावक भएको बताइएको छ । बाह्र बालकालिकालाई अहिले भरतपुरमा रहेको आदर्शगृहमा राखिएको छ । भने बालबालिका लिएर आउने तीनजनालाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको अधिकारीले बताउनुभयो ।
गएराति भरतपुरको केन्द्रीय बस टर्मिनलमा उनीहरुलाई देखेपछि सोधपुछ गर्दा शङ्का लागेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अहिले अनुसन्धान भइरहेकाले के कारण भनेर यकिन नभएको प्रहरीले जनाएको छ । तर वेश्यालयमा वेच्न लैजान लागिएको प्रहरीको आशंका छ ।
ती बालिकाले आफूलाई पहिले पनि भारत लैजान लागेका बेला काँकडभिट्टाबाट फर्काइएको बताएको आदर्शगृहका सूचना संयोजक अर्जुन अधिकारीले जानकारी दिनुभयो । ती बालिका पाँचदेखि १४ वर्षसम्मका छन् । उनीहरुको गतिविधि शङ्कास्पद भएको अधिकारीले बताउनुभयो ।
प्रहरी स्रोतका अनुसार उनीहरुलाई काठमाडौँबाट चितवन हुँदै काँकडभिट्टाबाट भारत लैजान लागिएको थियो । मुख्य व्यक्तिले काँकडभिट्टाबाट लैजान नसकिने भन्दै फर्कन भनेपछि राति उनीहरुलाई भरतपुर ओरालिएको बताइएको छ ।
सोही क्रममा प्रहरीले शङ्का लागेर उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । नोर्साङ सोनाम नाम गरेका एक व्यक्ति र अन्य दुई जनालाई नियन्त्रणमा लिईएको पनि प्रहरीले जनाएको छ ।
















प्रतिक्रिया