४ कार्तिक २०८३, बुधबार

अन्तर्राष्ट्रियस्तरको मेडल जित्दाको अनुभूति कसरी बयान गरौँ ?

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विमल योगी

ललितपुरको गोदावरी नगरपालिकाको ठेचो निवासी गंगाराम महर्जनले अहिलेसम्म कति वटा मेडल जिते भन्ने संख्या नै भुलिसकेका छन् । कक्षा ४ मा पढ्दादेखि कराते खेल्न शुरु गरेका महर्जनले साफ गेममा देशका लागि स्वर्ण पदक जितेका थिए । अन्तर्राष्ट्रियस्तरको गोल्ड मेडल जित्दा देशकै नाम विश्वभरि चिनाएको जस्तो अनुभूति हुने गरेको उनको संस्मरण छ । ०५५ सालमा भएको साफ गेममा भारतका खेलाडीलाई जितेर गोल्ड मेडल जित्दाको स्मरण अहिले पनि महर्जनलाई ताजा छ । भन्छन्, ‘साफ गेममा गोल्ड मेडल जित्दाको खुसी अहिले पनि ताजै छ ।’

समयक्रमअनुसार खेलाडीले पनि आफूलाई परिवर्तन गर्न सक्नुपर्ने उनको भनाइ छ । पछिल्लो समय राष्ट्रिय टिमलाई महर्जनले प्रशिक्षण दिँदै आएका छन् । उनले राष्ट्रिय टिमका खेलाडीहरूलाई आठ वर्षदेखि निरन्तर प्रशिक्षा दिँदै आएका छन् । करातेका राष्ट्रिय प्रशिक्षक महर्जन कातामा पनि उत्तिकै दख्ल राख्छन् । महर्जनको काताको रेकर्ड अहिलेसम्म कसैले उछिन्न सकेका छैनन् ।

सितोरियो करातेको यात्रा महर्जनले १२ वर्षको उमेर हुँदा अर्थात् ०४२ सालदेखि शुरुवात गरेका हुन् । अहिले उनी पाँचौ डन प्रप्त खेलाडी हुन् । गाउँकै राजपाल कमार्चायले कराते खलेको र सिकेका देखेपछि महर्जनलाई पनि करातेको खेलाडी भन्ने इच्छा जागेको थियो । त्यस बेला कराते खेल्दा महर्जनका खेल साथी मीनकृष्ण महर्जन थिए ।

काभ्रेको पनौतीमा तेह्रो एशियन गेमको छनौँट प्रतियोगितामा आफ्नै गुरुसँग महर्जन भिड्न पुगेका थिए । महर्जन आफ्ना गुरुसँग त्यस बेला एक अंकले मात्रै पराजित भएका थिए । त्यो समय पनि उनका लागि स्मरणीय लाग्छ ।

नेपालगञ्जमा ०५४ सालमा चौथो राष्ट्रिय गेम भएका बेला महर्जनले जीवनकै पहिलो गोल्ड मेडल जितेका थिए । अहिलेसम्म कति गोल्ड मेडल जित्नुभयो भन्ने जिज्ञासामा उनले भने, ‘थुप्रै जितेको छु । घरमा १२–१५ वटा गोल्ड मेडल छन् । कास्य र रजतको हिसाव किताव नै छैन । गन्नु पर्छ ।’

राष्ट्रिय प्रशिक्षक महर्जन एशियन च्याम्पियनशिपमा पराजित भएका रहेछन् । एशियन च्याम्पियनशिपमा तीनवटा फाइट जितेर हारेको उनको तितो अनुभव छ ।

पास्तिानमा भएको नवौँ साफमा महर्जनले करातेमै सिल्भर पदक जितेका थिए । त्यस बेला गोल्ड मेडल जित्न नसकेकोमा उनलाई पछुतो लागेको छ ।

चाकढी गर्न नजानेकै कारण लगातार आफू पछाडि परेको महर्जनले गुनासो गरे । ‘मैले चाकडी गर्न जानेको छैन । खेल क्षेत्रमा ठूलो राजनीति छ’, उनले भने, ‘राष्ट्रिय टिमलाई मैले प्रशिक्षण दिन्छ । प्रतियोगितामा जानु दुई महिना अगाडि अर्को प्रशिक्षकलाई ल्याइन्छ । अनि खेलाडीले कसरी जित्छ मोडल ?’ शुरुदेखि जसले प्रशिक्षण दिन्छ उसैलाई अन्तिमसम्म निरन्तरता दिनुपर्ने उनको भनाइ छ । उनलाई कसैप्रति गुनासो छैन ।

राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका मेडल तथा कराते खेलामा गरेको सम्मान स्वरुप तत्कालीन राजा वीरेन्द्रको हातबाट गोरखा दक्षिण बाहु सुप्रवल र त्रिशक्ति पट्टा गोरखादक्षिण बाहु समेत महर्जनले पाएका छन् ।

सितोरियो करातेमा उनले गरेको योदानको राजनीतिक नेतृत्वमा बसेकाहरूले बेवास्ता गर्दा बेलाबेला मन खिन्न हुन्छ । तैपनि महर्जनले करातेका खेलाडीहरूलाई प्रशिक्षण दिन छाडेका छैनन् ।

‘मलाई राष्ट्रिय टिम तयारीमा राखिन्छ । अफिसियल गेममा राखिदैन’, महर्जनले भने, ‘एशियन च्याम्पियनशिपहरूमा कोच भएर जाने गरेको छु । तर, अफिसियल रुपमा पठाइएको छैन । दुःख लाग्छ । यस बारेमा सरोकारवालालाई भनेको छु ।’ खेलामा कोचहरूलाई न्यायपूर्ण जिम्मेवारी दिइनुपर्ने उनले बताए ।

करातेका चिफ कोच शोभित प्रसाइँ आएपछि केही सुधार भएको महर्जनको बुझाइ छ । ‘चिफ कोचमा शोभित प्रसाइँ आएपछि कराते खेलामा धेरै सुधार भएको छ । उहाँले राम्रो गर्नुभएको छ । देशभरि छरिएर रहेका मेडलिस्ट खेलाडीलाई नेशनल टिममा राखेर प्रशिक्षण दिनुभएको छ’, उनले भने, ‘यसले गर्दा पनि खेलाडीहरूमा उत्साह छ ।’

नेपालमा साफ गर्ने समय दुई वर्ष ढिला भैसकेको महर्जनले बताए । ‘राष्ट्रिय गेम गर्नुपर्ने विषयमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव, उपाध्यक्ष र मन्त्रीबीच विवाद भएको पत्रपत्रिकामा पढ्ने गरेको छु’, उनले भने, ‘राष्ट्रिय गेम छिटो गर्नुपर्छ । राजनीति गर्नु हुँदैन ।’ राष्ट्रिय गेम गर्नका लागि सदस्य सचिवले फागुनलाई तोकेका छन् । तर, खेलकुद मन्त्री र परिषदका उपाध्यक्षले फागुनमा राष्ट्रिय गेम हुन सक्दैन भनेर अभिव्यक्ति दिएको उनलाई मन परेको छैन ।

राष्ट्रिय खेलको तयारी स्वरुप राष्ट्रिय टिमका ४५ जना करातेका खेलाडीहरूलाई प्रशिक्षण दिन शुरु गरिएको उनले बताए । साफ गेम भयो भने नेपालले करातेमा मात्रै ८ वटासम्म गोल्ड मेडल जित्ने महर्जनले दाबी गरेका छन् । ‘०५५ सालमा हामीले १४ वटा गोल्ड मेडल ल्याएका थियौँ’, उनले भने, ‘अहिले त साफ गेम आफ्नै देशमा हुन थालेको छ । करातेमा कम्तिमा पनि ८ वटा गोल्ड मेडल जित्नुपर्छ ।’