९ कार्तिक २०८३, सोमबार

चार्टर विमानमा बिहीबार नेपाल आए अमेरिकी एड्मिरल

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । अमेरिकी इन्डो–प्यासिफिक कमान्ड प्रमुख एड्मिरल फिलिप एस डेभिड्सनले पछिल्लो समय इन्डो प्यासिफिक क्षेत्रको शान्ति र सुरक्षा अमेरिकाको चासोको विषय बनेको बताएका छन्। शुक्रबार स्वदेश फर्कनुअघि रक्षा मन्त्रालयमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग उनले शिष्टाचार भेटमा उनले यस्तो धारणा राखे। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

अमेरिकी सेनाको १० वटा कमान्डमध्ये यस क्षेत्रका ३६ मुलुक हेर्ने कमान्ड नै ‘इन्डो प्यासिफिक’ हो। यसअन्तर्गत चार लाखभन्दा बढी सेना छन्। यसलाई पहिले प्यासिफिक कमान्ड भनिन्थ्यो। २०१८ को मे महिनामा यसको नाम परिवर्तन गरियो। हिन्द–महासागरलाई हेरेर ‘इन्डो–प्यासिफिक’ नामाकरण गरिएको हो। विश्वको आधा जनसंख्या यही ३६ मुलुकमा बस्छन्। शान्ति र सुरक्षासम्बन्धी मामिला पनि यही कमान्डले हेर्ने गर्छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमणलगत्तै डेभिड्सन नेपाल आएका हुन्।

ज्ञवालीको भ्रमणमा यस क्षेत्रको सुरक्षा चासो र उत्तर कोरियाको विषयमा समेत छलफल गरेको अमेरिकाले तत्काल निकै व्यस्त मानिने प्यासिफिक कमान्डका प्रमुख नेपाल पठाएको छ। इन्डो–प्यासिफिक नाम राखिएपछि कमान्ड सम्हालेका उनी पहिलो अधिकारी हुन्। आफ्नै चार्टर उडानमा बिहीबार नेपाल आएलगत्तै उनले भारत भ्रमणमा निस्कन लागेका प्रधानसेनापति पूर्णचन्द्र थापासँग दुईपक्षीय भेटवार्ता गरेका थिए। भेटमा नेपाल र अमेरिकाबीचको सहकार्यको साथै सेनालाई गर्न सक्ने सहयोगको बारेमा छलफल भएको छ। उनले प्रधानसेनापति थापालाई अमेरिका भ्रमणको निम्ता समेत गरे।

शुक्रबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट गरे। नेपाली राजनीतिक र कूटनीतिक वृत्तले ज्ञवालीको अमेरिका भ्रमण र जापानी विदेशमन्त्री तारो कोनोको नेपाल भ्रमणसँगै डेभिड्सनको आगमनलाई पनि जोडेर हेरेको छ।

पछिल्लो समय अमेरिकाले उपलब्ध गराउने चार वटा स्काइ ट्रक अझै नआएको विषयमा लगातार छलफल भइरहेको छ। शुक्रबार प्रधानमन्त्रीसँगको भेटमा यसबारे पनि छलफल भएको छ र अमेरिकाले सन् २००२ मै स्काइ ट्रक दिन्छु भनेको थियो। पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीको पालामा अमेरिकाले सन् २०१८ को अन्त्यसम्म उक्त ट्रक उपलब्ध गराउने बताएको थियो।

नेपालले अमेरिकासँग शान्ति सेनाका लागि पाँच हजार थान एम १६ राइफल खरिद गर्न लागेको छ। यसमा भइरहेको ढिलाइबारे पनि छलफल भएको थियो। नेपालको खरिद प्रक्रिया यसमा बाधक देखिएको थियो। सबै पक्षबीच छलफल भएर यसको प्रक्रिया अघि बढेको छ।

यस क्षेत्रको सम्बन्धलाई कूटनीतिक तवरबाट मात्र नभएर अमेरिकाले सुरक्षा रणनीतिको रुपमा समेत व्याख्या गरिरहेको छ। पछिल्लो समय अमेरिकाले यस क्षेत्रको शान्ति र विकासको लागि भारत, जापान र अस्ट्रेलियासँग सहकार्य बढाएको छ। यही सहकार्यमा नेपाललाई सामेल हुन र भूमिका खेल्न अमेरिकाले आग्रह गर्दै आएको छ।

‘नेपाली सेनाको क्षमता विकास, वीरेन्द्र शान्ति तालिम केन्द्रको स्तरोन्नति, आधुनिक विपद् व्यवस्थापन सामग्रीको सहयोगका क्षेत्रमा अमेरिकी सरकारको सहयोगको अपेक्षाप्रति सकारात्मक रहेको पाएँ,’ रक्षा प्रवक्ता बाबुराम गौतमले भने, ‘इन्डो प्यासिफिक क्षेत्रको शान्तिमा अमेरिकाको चासो रहेको पनि प्यासिफिक कमान्ड प्रमुखले बताए।’