काठमाडौं, २४ पुस । सरकारले सञ्चालन ढाचा टुंगो लगाउन नसक्दा पूर्वनिर्धारित समयमा भैरहवा विमानस्थल सञ्चालन चुनौतीपूर्ण देखिएको छ । निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी असारदेखि उडान सञ्चालन गर्ने कार्यतालिका तय भएको छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १३ गतेबाट अन्तर्राष्ट्रिय उडान गर्ने तयारी गरेको छ । यसबारे समयमै निर्णय हुन नसक्दा निर्धारित समयभित्र विमानस्थल सञ्चालनमा ल्याउनु चुनौतीपूर्ण भएको प्राधिकरणकै भनाइ छ ।
यो विमानस्थल दुई देशबीचका सरकारको सम्झौता (जीटूजी)मा सञ्चालन गर्ने गरी प्राधिकरण सञ्चालक समितको पुस ५ गतेको बैठकले निर्णय गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको छ । प्राधिकरणले गरेको प्रस्तावलाई मन्त्रालयले मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्ने हुन्छ ।
सरकारबाट निर्णय भएपछि परराष्ट्र मन्त्रालयमार्फत इच्छुक कम्पनी ल्याउनुपर्ने हुनाले जति ढिला भयो उति विमानस्थल सञ्चालन पछाडि धकेलिने प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले बताए । यो विमानस्थलबाट उडान गर्न ‘अपरेसनल रेडिनेस एन्ड एयरपोर्ट ट्रान्सफर (ओरएट) तथा अपरेसनल एन्ड म्यानेजमेन्ट÷मेन्टिनेन्स (ओएनएम) गरेर दुई पक्षबाट काम गराउनै बाँकी रहेको उनको भनाइ छ ।
श्रेष्ठका अनुसार एयर नेभिगेसन, एरोड्रम तथा मेन्टिनेन्स, जीवनोद्वार र आगलागी नियन्त्रण, अध्यागमन, भन्सार, ग्राउन्ड ह्यान्डलिङ, कम्युनिकेसन तथा इक्विपमेन्ट जडानसहित थुप्रै काम बाँकी छ । विमानस्थलमा बस्ने कर्मचारीको क्षमता विकास तालिम, यात्रु सेवालगायत काम ओरएटअन्तर्गत गराउनुपर्छ । ओरएटपछि विमानस्थल सञ्चालन गर्न आवश्यक एरोड्रम, सेक्युरिटी, फ्लाइट प्रोसिड्युरसहित म्यानुअल ओएनएमअन्तर्गत बनाउनुपर्छ ।
अहिलेसम्म भैरहवा विमानस्थल सञ्चालन गर्न कुनै पनि म्यानुअल बनेको छैन । ओरएट र ओएनएमका लागि कम्तीमा ६ देखि ८ महिना लाग्छ । विमानस्थल सञ्चालन, निजी सार्वजनिक साझेदारी (पीपीपी) का विषयलाई सरकारले जति छिटो निर्णय गर्छ उति चाँडो विमानस्थल सञ्चालन प्रक्रिया अगाडि बढ्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
विमानस्थल सञ्चालन गर्नेले ओरएट गर्छ भन्ने मनसायले प्राधिकरणले योजना तय गरेको छ । विमानस्थल सञ्चालन गर्न तय गरिने प्रक्रियाबारे आवश्यक व्यवस्था मिलाउनुपर्ने हुन्छ । प्रक्रियाका सम्बन्धमा कार्य गर्ने कम्पनीले विमानस्थल सञ्चालन गर्दा सहज हुने भएकाले उसैबाट ओरएट र विमानस्थल सञ्चालन गराउने प्रस्ताव माग गर्ने प्राधिकरणको भनाइ छ । प्राधिकरणले अगाडि बढाएको ओरएट र ओएनएमको काम समयमै गर्न नसके विमानस्थल असारदेखि सञ्चालनमा आउन सक्दैन ।
‘प्राधिकरणले कुनै पनि देश वा विमानस्थलको नाम तोकेर प्रस्ताव गरेको छैन, तर अन्तर्राष्ट्रिय मान्यताका सरकारी कम्पनी आउनुपर्छ’, श्रेष्ठले भने । ओएनएमले गर्ने काम कुन देशसँग कनेक्टिभिटी मिलाउने, अपरेसन तथा म्यानेजमेन्ट गर्न बाँकी नै छ । यसले ग्राउन्ड ह्यान्डलिङ, क्याटरिङ, टर्मिनल व्यवस्थापन, यात्रुको चाप मिलाउने, सेड्युल मिलाउने र पार्किङलगायत काम गर्छ । यो काम ओरएटकै समय तालिका अनुसार गर्न सकिने श्रेष्ठको भनाइ छ ।















प्रतिक्रिया