काठमाडौं, २३ पुस । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको सात महिना पुगिसकेको छ । तर, अहिलेसम्म पनि नेकपाका सांसदहरूले तत्कालीन पार्टीले तोकेको दरअनुसार लेबी बुझाउँदै आएका छन् ।
नेकपाले पार्टी कार्यालय धुम्बाराही र पेरिसडाँडाबाट लेबी उठाउने गरेको छ । पार्टी एकता भए पनि लेबीमा एकरूपता नहुँदा तत्कालीन एमालेका सांसदले धुम्बाराही र माओवादी केन्द्रका सांसदले पेरिसडाँडामा लेबी बुझाउने गरेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
गत वर्ष १० र २१ मंसिरको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी केन्द्र तालमेल गरी निर्वाचनमा गए । निर्वाचनमा वाम गठबन्धनले बहुमत सिट जित्यो । निर्वाचनलगत्तै ३ जेठमा एमाले र माओवादीबीच एकता भई नेकपा गठन भयो ।
तर, पार्टी एकता भएको सात महिना पुगिसक्दा पनि दुवै दलले आ–आफ्नै ढंगले सांसदबाट लेबी उठाउँदै आएका छन् । प्रतिनिधिसभादेखि प्रदेश सभासम्म दुवै दलले फरक–फरक दर कायम गरी लेबी उठाउने गरेका हुन् ।
तत्कालीन एमालेबाट प्रतिनिधिसभामा १२१ र राष्ट्रिय सभामा २७ गरी १४८ सांसद छन् । उनीहरूबाट मासिक १९ लाख २४ हजार रुपैयाँ लेबी संकलन हुँदै आएको छ ।
तत्कालीन माओवादी केन्द्रका प्रतिनिधिसभामा ५४ र राष्ट्रिय सभामा १२ गरी ६६ सांसद छन् । उनीहरूबाट मासिक सात लाख ९२ हजार लेबी उठ्ने गरेको छ ।
पार्टी एक भए पनि सांसदले बुझाउने लेबीमा एकरूपता छैन । तत्कालीन एमाले सांसदले मासिक १३ हजार र माओवादी सांसदले १२ हजार रुपैयाँ बुझाउँदै आएका छन् ।
दुवै पार्टीका क्रियाशील सदस्यको तथ्यांक अपडेट नभएकाले अप्ठेरो भएको नेकपा केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए ।
अहिले प्रतिनिधिसभा सदस्यले मासिक तलब ५५ हजार २३० रुपैयाँसहित एक स्वकीयसचिव, विभिन्न शीर्षकमा प्राप्त रकम गरी मासिक ८५ हजार रुपैयाँ बुझ्दै आएका छन् । एमालेले क्रियाशील सदस्य पाँच लाख र माओवादीले तीन लाख भएको दाबी गरेका छन् ।















प्रतिक्रिया