२ कार्तिक २०८३, सोमबार

वन्यजन्तु संरक्षण गर्न सीमावर्ती जङ्गलमा संयुक्त गस्ती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gasti-nepal-bharat

– शेरबहादुर सिंह

भीमदत्तनगर, १९ माघ । भारतीय सिमानासँग जोडिएका आरक्ष तथा वन जङ्गलमा रहेका वन्यजन्तु संरक्षण र चोरी सिकारी नियन्त्रण गर्न नेपाल–भारतका आरक्ष र वन अधिकारीबीच संयुक्त गस्ती गर्ने सहमति भएको छ ।

केही दिनयता कञ्चनपुरका विभिन्न सीमावर्ती क्षेत्रबाट बाघका छाला र हड्डीसहित भारतीय नागरिक पक्राउ परेपछि वन्यजन्तुको चोरी सिकारी नियन्त्रणका लागि भारतीय पक्ष चिन्तित बनेको थियो ।

दुई दिनअघि भारतको उत्तराखण्डस्थित हल्द्धावानीका वन, खटिमा र उत्तरप्रदेशका वन अधिकारीसँग वन्यजन्तु संरक्षण र चोरी सिकारी नियन्त्रणका लागि छलफल भएको शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वेदप्रकाश ढकालले जानकारी दिनुभयो ।

सीमावर्ती भारतीय संरक्षित क्षेत्रसित जोडिएको शुक्लाफाँटा वन्यजन्तु आरक्षलगायत विभिन्न वन जङ्गलका वन्यजन्तु दुवै देशको जङ्गलमा ओहोर–दोहोर गर्दै आएका छन् । भारतीय क्षेत्रका वन पनि नेपाली भू–भागसँग जोडिएका छन् ।

दुवै देशका वन्यजन्तुको संरक्षणका लागि संयुक्त गस्ती गर्ने विषयमा सहमति भएको प्रमुख संरक्षण अधिकृत ढकालले जानकारी दिनुभयो ।

उहाँले १५ दिनभित्र गस्ती गर्न दुवै देशका अधिकारी मिलेर मिति तय गरिने जानकारी समेत दिनुभयो । “सीमावर्ती जङ्गलमा संयुक्त गस्ती गर्ने विषयमा सहमति भएको छ” उहाँले भन्नुभयो ।

बैठकमा वन्यजन्तु संरक्षणका साथै चोरी सिकारी नियन्त्रणका लागि दुवै देशबीच सूचना आदानप्रदान, आवश्यक समन्वयसमेत गर्ने भएको छ ।

“भारतीय पक्ष पनि यस विषयमा निकै गम्भीर छ ।” प्रमुख संरक्षण अधिकृत ढकालले भन्नुभयो– “अब दुवै देशका अधिकारीहरु सक्रियरुपमा लाग्छौँ ।” त्यसैगरी तीन÷तीन महिनामा नेपाल र भारत दुवै ठाउँमा संयुक्त बैठक बस्ने सहमतिसमेत भएको छ ।

नेपाली टोलीले भारतीय सीमावर्ती जङ्गलको स्थलगत निरीक्षणसमेत गरेको छ ।

नेपाली टोलीमा शुक्लाफाँटा वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत वेदप्रकाश ढकाल, सहायक संरक्षण अधिकृत पूर्णबहादुर चन्द, शुक्लाफाँटा सुरक्षार्थ खटिएको गरुड दल गणका गणपति सुर्वणकुमार विष्ट र जिल्ला वन कार्यालय कञ्चनपुरका प्रतिनिधिको सहभागिता रहेको थियो ।

– भारतमा सात जना पक्राउ

केही साताअघि कञ्चनपुरको दोधारा चाँदनी र बेलौरी क्षेत्रबाट छुट्टाछुटै दुई भारतीय नागरिक बाघको छाला र हड्डीसहित नेपाल प्रहरीको अनुसन्धान टोलीले पक्राउ गरेपछि सक्रिय बनेको भारतीय पक्षले उत्तर प्रदेशबाट सोही घटनामा संलग्न सात जनालाई पक्राउ गरेको छ ।

केही साताअघि कञ्चनपुरको दोधारा, चाँदनीमा भारतको पिलीभितका ४० वर्षीय दुलाल मण्डललाई बाघको छाला र हड्डीसहित सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान टोलीले पक्राउ गरी कारबाहीका लागि शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई बुझाएको थियो ।

शुक्लाफाँटा आरक्षले पक्राउ परेका अभियुक्तले दिएको बयानका आधारमा भारतको उत्तर प्रदेशको वनले अन्य सात जनालाई पक्राउ गरेको शुक्लाफाँटा वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत वेदप्रकाश ढकालले बताउनुभयो ।

प्रमुख संरक्षण अधिकृत ढकालका अनुसार भारतीय जङ्गलमा बाघ मारेर नेपाली भूमि हुँदै तिब्बत पु¥याइरहेका दुई भारतीय नागरिक पक्राउ परेपछि भारतीय पक्ष चोरी सिकारी नियन्त्रणका लागि सक्रियरुपमा अघि बढेको छ । रासस