– जङ्ग योञ्जन तामाङ
पाँचथर, १८ माघ । साक्षरता अभियानलाई सफल बनाउँन जिल्ला शिक्षा कार्यालय पाँचथरले एक निरक्षर व्यक्तिलाई एक साक्षर व्यक्तिले अनिवार्य साक्षर बनाउनु पर्ने रणनीति बनाएको छ ।
परिवारमा एक जना मात्रै साक्षर व्यक्ति भए उसले परिवारका अन्य निरक्षरहरुलाई साक्षर बनाउँनु पर्नेछ । जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालले परिवारका सदस्यहरुलाई साक्षर बनाउने दायित्व परिवारकै साक्षर सदस्यको भएकाले पनि पहिलो पटक साक्षरता अभियानका लागि यो विधि अपनाएको बताउँनुभयो ।
आगामी फागुन ७ गते देखि जिल्लाका नगरपालिका तथा गा.वि.स.का प्रत्येक वडामा वडा स्तरिय वैठक,साक्षर प्रमाणपत्र वितरण, निरक्षरहरुको पहिचान र सहजकर्ता तोक्ने कार्यक्रम रहेको उहाँको भनाई छ ।
निरक्षरहरुलाई साक्षर बनाउन वर्कबुक,पेन्सिल लगायतका शैक्षिक सामग्रीको व्यवस्था गरिने नेपालले जानकारी दिनुभयो । परिवारमा एक जना मात्रै निरक्षर भए साक्षर परिवार प्रमाणपत्र नपाउँने साथै सरकारले प्रदान गर्ने सेवा सुविधाहरु कटौती गरिने भएको छ ।
जिल्ला शिक्षा अधिकारी नेपालका अनुसार साक्षरता अभियानमा १५ देखी ६० वर्ष उमेर समूहका व्यक्तिहरुलाई साक्षर बनाउँनु पर्नेछ । पाँचथरलाई २०७२ साल असार १५ गते साक्षरता जिल्ला घोषणा गर्ने जिल्ला स्थित सरोकारवालाहरुको वैठकले निर्णय गरेको छ ।















प्रतिक्रिया