४ कार्तिक २०८३, बुधबार

पर्चा काण्डले देवदहमा हल्लीखल्ली, दुर्गा-बसन्त हत्यापछि यी मेयर र पत्रकारमाथि खतरा

21.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १७ पुस । रुपन्देही जिल्लाको देवदह नगरपालिकामा पुस १४ गते अर्को पर्चा काण्ड भएको छ । मानवअधिकार र नागरिकसमाजका नाममा गरिएको पर्चाले देवदह लगायत समग्र रुपन्देही एक पटक तरंगित भएको छ ।

पर्चामा दुर्गा तिवारी र बसन्त पौडेल  ‘बलु’ हत्याकाण्डमा संलग्न मनोज पुनसंग पैसा लिएर देवदह– ५ निवासी तुलसीराम न्यौपानेले काठ व्यवसायी बलुलाई हत्या गर्न १० लाख रकम डिल भएको पर्चामा उल्लेख छ ।

पर्चामा बलुको हत्या गर्न ३ लाख पेश्की लिई हत्या सफल भएपछि माग्न जाँदा देवदहका मेयर हीरा केसी र पत्रकार तथा तत्कालीन एमाले नेता सिद्धिचरण भटराईको हत्यापछि मात्र बाँकी ७ लाख दिने प्रस्तावको उल्लेख छ ।

सात लाखको प्रस्तावपछि हामीले अस्वीकार ग-यौँ भन्ने बिजु थापा र भरतको नाममा लेखिएको पर्चा वितरण गरिएको छ । बलुको हत्यापछि मनोज पुनले युवा संघका जिल्ला नेता नहकुल शाहीलाई फोन गरी पत्रकार भटराईलाई हत्या गरिने बताएको पनि चर्चा छ ।

हत्यामा संलग्न भएको दावी गरेका बिजु थापालाई घरमा पक्राउ पुर्जी टाँसिएको कुरा पर्चामा उल्लेख छ । ‘हामीलाई हत्यामा लगाउने तुलसीराम न्यौपानेलाई पक्राउ गरी जेल हालेमा आफूहरू अदालत समक्ष आत्मसर्मपण गर्ने’ समेत उल्लेख छ ।

१६ डिसेम्वरमा लेखिएको पर्चा देवदह खानेपानी संस्थाको निर्वाचनको गरमागरम माहौलका वीच राति वितरण गरिएको थियो ।

यसअघि पनि देवदहमा मनोज पुन हत्याकाण्डमा संलग्न शंकास्पदहरूको नाम उल्लेख भएको पर्चा वितरण गरिएको थियो । सत्तारुढ नेपाल कमयुनिस्ट पार्टी (नेकपा)भित्र हालका प्रदेश सभा सदस्य डा.कृष्ण न्यौपानेको संयोजकत्वमा छानविन समिति बनाए पनि त्यसले कुनै प्रतिवेदन बाहिर ल्याउन सकेको छैन ।

प्रहरी स्रोतका अनुसार बलु हत्यामा संलग्नहरूले पेश्की स्वरुप ३ लाख लिएको अनुसन्धानबाट खुलेको र बिजु थापा भन्ने व्यक्ति फेक नाम नभई यो अपराधसंग जोडिएको स्वीकार गरेका छन । यसले पर्चा काण्डलाई झन रहस्यमयी बनाएको छ ।

हत्या स्वीकार गरेका बिजु थापाले पर्चामा ‘तुलसी न्यौपानेलाई जनताले पक्राउ गरी प्रहरीलाई बुझाउनु पर्ने’ जिकिर गरिएको छ । तुलसी न्यौपानेलाई पक्राउ नगरे देवदहमा अरु अपराधका घटना तत्काल हुन सक्ने देखेर मानवअधिकार र नागरिक समाजलाई जानकारी गराएको पर्चामा उल्लेख छ ।

०७३ पुस ४ गते युवा संघ नेपालका रुपन्देही अध्यक्ष दुर्गा तिवारी र ०७४ पुस २१ गते बसन्त पौडेल बलुको हत्या भएको थियो । दुवै जना तत्कालीन एमालेसंग आवद्ध युवा नेता हुन । पौडेल हत्यापछि मनोज पुन र सोम आले नामक गुण्डा नाईकेहरू पनि प्रहरी कारवाहीमा मारिइसकेका छन ।

केही संगठित अपराधमा संलग्न जेलमा छन । प्रहरीले दुवै हत्याका सुटरहरू पक्राउ गरेको जनाएको छ ।

बलु हत्यामा संलग्न भनिएका विवेक भनिने व्यक्तिले ३ लाख लिएको स्वीकार गरेको प्रहरीले यसअघि सार्वजनिक गरेको छ । यो अपराधमा नेकपा (एमाले) निकट युवा संघ र माओवादी निकट व्यक्तिहरू उत्तम आचार्य, सुजु मल्ल, हरि श्रेष्ठ, लेखनाथ न्यौपाने, तुलसीराम न्यौपाने र रोशन खडका पक्राउ परेका थिए ।

यीमध्ये तुलसीराम न्यौपाने, लेखनाथ न्यौपाने र हरि श्रेष्ठ जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा राखिरहेको अवस्थामा पुनरावेदनको १७ नम्बर को आदेश अनुसार तुलसीराम न्यौपाने, लेखनाथ न्यौपाने र हरि श्रेष्ठ तारेखमा छुटेका छन ।

मेयर हीरा केसी तत्कालीन एमालेका क्षेत्रीय नेता नीलकण्ठ पौडेलका छोरा बलुका मित हुन । नेपाली कांग्रेससँग निकट रहेका छन । पत्रकार सिद्धिचरण भटराई बारम्बार अपराध र डनतन्त्रविरुद्ध लगातार उभिएका लेखक तथा नेकपा जिल्ला नेता हुन भने भटराईले मनोज पुन निकट गुण्डा नाइकेहरूले सताउने युवाहरूलाई आडभरोसा दिँदै आएका व्यक्ति हुन ।