
काठमाडौं, १५ पुस । पूर्वराजपरिवारका सदस्यहरूले चिसो छल्नका लागि उपत्यका छाडेका छन् ।
जाडो विदा मनाउनका लागि छोराछोरी बोकेर पूर्वयुवराज्ञी हिमानी शाह केही दिन अघि सासुससुरा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह भएको पोखरामा पुगेकी छन् । तर, पारस भने भ्रमणमा सहभागी छैनन् । उनी चितवन पुगेका छन् । आइतबार पारसको ४९ औं जन्म दिन हो ।
प्रायः जन्मदिन आफ्ना छोराछोरीसँगै मनाउने गरेका पारसका लागि यो जन्मदिन भने परिवारका सदस्यसँग मनाउने अवसर मिलेन । न बाबुआमा छन्, न पत्नी हिमानी । हिमानी उता पोखरामा नयाँ बर्षको तयारी गरिरहेकी छन्, पारस यता चितवनमा जन्मदिन मनाउन साथीहरूसँग छन् ।
हिमानी र पारसको नीजि सम्बन्धमा उल्लेख्य सुधार आइ नसकेको बताइन्छ । त्यसकारण पनि पारस काठमाडौं बस्दा पनि निर्मलनिवास छिर्ने अनुमतिमा छैनन् । तर बाहिर भएका कार्यक्रममा भने परिवारका सदस्यसँग उनी देखिने गरेका छन् ।
कतिपय धार्मिक गुरु र माताहरूले पत्नी र परिवारसँग नबस्नका लागि सुझाएका कारण पनि पारस निर्मलनिवासमा बस्दैनन्, परिवारका सबै सदस्य पोखरामा रहेकाले उनी सँगै नदेखिएको हुनसक्ने अनुमान गरिएको छ । तर गत साउनमा भने परिवारका अन्य सदस्यसँग उनी नेपालगञ्जमा देखिएका थिए । २३ साउनमा ज्ञानेन्द्रको जन्मदिन नेपालगञ्जमा मनाइएको थियो ।
दरबारनिकटहरूका अनुसार हिमानी र पारसको सम्बन्धमा पूर्ण सुधार नआए पनि दुवैबीच सन्निकट हुने क्रम केही बाक्लिएको छ । त्यसो त केही कार्यक्रमका सार्वजनिक भएका तस्बिरले पनि यसको पुष्टि गरेको छ । पूर्व राजपरिवारको भेलाका क्रममा त्रिसरा रेष्टुुुरेन्टबाट पारस र हिमानी आमने सामने हुन थालेका थिए ।
बीचमा सम्बन्धमा सुधार आएको बताइएको थियो । त्यस्तो संकेत गोरखामा हिमानी ट्रस्टले बनाएको विद्यालयको उद्घाटनका क्रममा देखिएको उनीहरूको निकटताले पनि पुष्टि गरेको थियो ।















प्रतिक्रिया