४ कार्तिक २०८३, बुधबार

प्रधानन्यायाधीशमा सिफारिस राणाको सुनुवाइ आज, बन्लान् २८ औँ प्रधानन्यायाधीश ?

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ पुस । सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका विषयमा आज संसदीय सुनुवाइ हुँदैछ । संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइका लागि राणालाई दिउँसो २ बजे बोलाइएको छ ।

राणाले संसदीय सुनुवाइ समिति समक्ष आफूमाथि उठेका प्रश्नको जवाफ दिनेछन् । त्यसपछि सुनुवाइ समितिले उनलाई सर्वोच्चको नेतृत्वमा स्वीकार गर्ने नगर्ने भन्ने निर्णय गर्नेछ । सुनुवाइ समितिले जबरालाई प्रधानन्यायाधीशमा स्वीकार गरे राष्ट्रपतिले शपथ गराएर यहि पुस १७ गतेबाट उनले प्रधानन्यायाधीश भएर काम गर्नेछन् । वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ गते उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै छन् ।

समितिले यसअघि दुई दिन अघिमात्र जवराविरुद्धका उजुरीकर्तासँग छलफल गरेको थियो । विभिन्न समयमा भएका फैसला तथा व्यक्तिगत विषयमा प्रस्तावित प्रधानन्यायाधीश राणाविरुद्ध ९ वटा उजुरी परेका छन् ।

९ थान मध्ये ८ थान उजुरी राणाको कार्यसम्पादन सम्बन्धमा प्रश्न उठाउँदै दर्ता भएका छन् । राणाले उच्च अदालतदेखि सर्वोच्चसम्म आइपुग्दा सम्पादन गरेका कार्यहरु विवादास्पद भएकाले उनलाई संसदीय सुनुवाइबाट अस्वीकृत गरेर मात्र नपुग्ने भएकाले महाअभियोग समेत लगाउनु पर्ने दाबी उजुरीमा गरिएको छ ।

राणाविरुद्ध दर्ता भएको पहिलो उजुरी सार्वजनिक पोखरीको नाममा रहेको जग्गा आफन्तको नाममा हुने फैसला सुनाएको भन्ने छ । वीरगञ्जको छपकैया पोखरीको जग्गा राणाले नाता पर्ने प्रमोद शाहको नाममा फैसला गरेको उजुरीमा उल्लेख छ ।

जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालत हेटौंडाले सार्वजनिक कायम हुने भनिएको फैसला उल्टाउँदै न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्र शमशेर जबराले २०७१ भदौ ८ गते शाहको नाममा दर्ता कायम गर्न आदेश दिएको थियो ।

राणाविरुद्धको दोस्रो उजुरी पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहको दाइजो हुने भनि गरेको फैसलामा आधारित छ । छाउनीको १५ रोपनी जग्गा र घर शाहको दाइजो हुने भनि राणा सहितको इजलाशले गरेको फैसला सर्वोच्चबाटै उल्टिएकाले उनीमाथि छानबिन गरी महाअभियोग लाग्नु पर्ने उजुरीमा दाबी गरिएको छ ।

राणाविरुद्धको तेस्रो उजुरी विशेष अदालतमा रहँदा गरेको कार्यसम्पादनका बारेमा रहेको छ । राणाले विशेषमा रहँदा भ्रष्टाचारका मुद्दामा सफाइ दिएको उल्लेख छ । राणासहितको इजालशले गोविन्दराज जोशी, खुमबहादुर खड्का, जेपी गुप्ता, चक्रबन्धु अर्याललगायत करीब ३५ थान भ्रष्टाचारको मुद्दामा तथ्य मै प्रवेश नगरी सफाइ दिएकोले योग्य नभएको दाबी उजुरीमा गरिएको छ । अख्तियारले दायर गरेको ३६ थानमध्ये १ मा मात्र दोषी ठहर हुने फैसला सुनाएको उजुरीमा उल्लेख छ ।

उजुरी तथा उनका भावी कार्ययोजनाका विषयमा आज समितिमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी मंगलबार अनिवार्य अवकाश पाउने भएकाले त्यसअघि नै प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ सक्ने तयारी संसदीय समितिले गरेको हो ।

राणाकै सहकर्मी न्यायाधीश दिपकराज जोशी यसअघि सुनुवाइ समितिबाट अस्वीकृत भएका थिए । राणालाई महाअभियोग लगाउने माग समेत उजुरीमा गरिएको छ । राणा अस्वीकृत भएमा उनीबाहेक तत्कालमा अर्को व्यक्ति प्रधानन्यायाधीश हुने अवस्था छैन ।

राणाको नाम अनुमोदन भए उनी २८ औँ प्रधान्यायाधीश हुनेछन् ।