
काठमाडौँ, १२ पुस । सर्वाेच्च अदालतको भावी प्रधानन्यायाधीशका रुपमा सिफारिस भएको न्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध परेका उजुरीमाथि आज छलफल हुँदैछ ।
संसदीय सुनुवाइ विशेष समितिले उजुरीमाथि छलफल गर्न लागेको हो । जबराविरुद्ध ८ वटा उजुरी परेका समितिले स्रोतले जनाएको छ । उजुरीकर्तासँग छलफल गरेपछि समितिले जबरासँग जवाफ माग्नेछ ।
जबराको जवाफ चित्त बुझेमा समिति प्रधानन्यायाधीशका लागि संवैधानिक परिषदले गरेको सिफारिसलाई स्वीकृत गर्नेछ । यसअघि अघिल्लोपटक दीपकराज जोशीको जवाफ चित्त नबुझेपछि उनलाई अस्वीकार गरिएको थियो । त्यसपछि सर्वाेच्चको प्रधानन्यायाधीश ओमप्रकाश मिश्र बनेका थिए ।
यो पटक जबराको मात्र नाम परिषद्ले सिफारिस गरेपछि समितिलाई अन्योल परेको छ । समितिले उनको जवाफ चित्त नबुझेपनि उनलाई स्वीकार गर्नैपर्ने बाध्यता रहेको बताइन्छ । यद्यपी, यस विषयमा आधिकारिक कुरा सार्वजनिक भइसकेको छैन ।
यता प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले भने आजदेखि मुद्दा नहेर्ने भएका छन् । अवकाशको ठीक एक साताअघिबाट उनले इजलासमा नबस्ने निर्णय गरेको सर्बोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।
जोशी संसदीय सुनुवाइबाट अस्वीकृत भएपछि मिश्रलाई करीव चार महिनाको छोटो अवधि प्रधान न्यायाधीश बन्ने मौका मिलेको थियो । उनले उमेर हदका कारण पुस १७ गते अवकाश पाउँँदैछन् ।
मिश्रले मुद्दा नहेरे पनि अन्तिम दिनसम्म पेशी तोक्ने र प्रशासनिक काम भने जारी राख्ने भएका छन् ।















प्रतिक्रिया