काठमाडौं, १२ पुस । आन्तरिक विवादमा रहेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को बैठकमा महन्थ ठाकुर सहभागी भएपनि अर्का सदस्य अनिल झाले बहिष्कार गरेर असन्तुष्टि देखाएका छन ।
बबरमहलस्थित पार्टी मुख्यालयमा बुधबार राजपा नेपालको अध्यक्षमण्डलको बैठक बसेको थियो । बैठकले आन्तरिक संगठनसम्बन्धी केही निर्णय गरेको छ ।
बैठक बसेका बेला झा पार्टी कार्यालयमै थिए । तर, उनी बैठकमा सहभागी भएनन । बैठक शुरु भएको आधा घण्टापछि झा पार्टी मुख्यालयबाट बाहिरिएका थिए ।
राजपा नेपालका संयोजक राजेन्द्र महतोसँग झाको खासै कुरा मिल्दैन । कुनै बेला महतोकै पार्टीमा रहेका झाले पार्टी फुटाएर नयाँ पार्टी बनाएका थिए । महतोसँगको पुरानो तुष झाले अहिले पनि लिने गरेको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार झाले महतोलाई असफल बनाउनकै लागि ठाकुरलाई साथ दिएर उचालेको आरोप छ । ठाकुरलाई भडकाएर झाले नै लामो समयसम्म राजपाको बैठक बस्न दिएका थिएनन भनेर पार्टी मुख्यालयमा चर्चा हुने गरेको छ ।
महन्थ ठाकुरलाई मंसिर ४ गते संयोजक पदबाट हटाउने निर्णय गर्दा पनि झाले अहसमति जनाएका थिए । छ वटा पार्टी मिलेर बनेको राजपामा झा जहिले पनि ‘अल्टर’ नेताका रुपमा रहेको आरोप छ । झाले जहिले पनि पार्टीलाई बेफाइदा हुने काम गर्ने गरेको आरोप छ ।
पत्नी डिम्पल झालाई सभासद बनाउँदा होस वा अहिले प्रदेश २ को सांसद बनाउने मामिलामा होस झा सधै विवादमा आइरहन्छन ।
बुधबारको बैठकमा ठाकुर उपस्थित भएका थिए ।
बैठकमा झाबाहेकका अध्यक्षमण्डलमा अन्य सदस्यहरू ठाकुर, शरतसिंह भण्डारी, महिन्द्र राय यादव र राजकिशोर यादव उपस्थित थिए । बैठकले महाधिवेशन प्रयोजनका लागि साधारण र सक्रिय सदस्यता वितरणको समय १५ माघसम्म थप्ने निर्णय गरेको छ ।
सदस्यता वितरणको म्याद थपिएको यो दोस्रो पटक हो । ०७५ कात्तिक मसान्तसम्म रहेको सदस्यता वितरणको समयमा कार्य नसकिएको भन्दै ४ मंसिरमा बसेको अध्यक्षमण्डलको बैठकले मंसिर मसान्तसम्मका लागि थपेको थियो ।
थपिएको समयमा पनि सदस्यता वितरण नसकिएको भन्दै १५ माघसम्म पु-याउने निर्णय बुधबारको बैठकले गरेको छ ।
बैठकले १८ पुसमा सम्पूर्ण जिल्लामा विस्तारित बैठक गर्ने र २५ पुसमा वडास्तरीय विस्तारित बैठक गरी सदस्यता वितरण अभियानलाई गति प्रदान गर्न जिल्ला अध्यक्षमण्डललाई निर्देशन दिने निर्णय गरेको संयोजक राजेन्द्र महतोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया