काठमाडौं, १२ पुस । राष्ट्रिय जनता पार्टी नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि चिप्लो दलेर बालुवाटारबाट फिर्ता पठाइदिएका छन् ।
ओलीले टीकापुर काण्डमा जेलमा रहेर शपथ लिन नपाएका सांसद रेशमलाल चौधरीको कुरा राम्रोसँग सुनेनन । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
त्यति मात्रै होइन, ओलीले संविधान संशोधनको कुरालाई त्यति महत्व नदिएको स्रोतले जनाएको छ । ओलीका मिठा कुरा सुनेर फर्किएका राजपा नेपालका एक नेताले भने–‘ओलीजीले फेरि हामीलाई चिल्लो घसेर पठाउनु भयो । हामी मख्ख प-यौँ ।’
ओलीबाट संविधान संशोधन र रेशमलाल चौधरी छाड्ने कुरा असम्भव जस्तै रहेको ती नेताले बताए । पार्टीभित्रको आन्तरिक द्वन्द्वमा रहेको राजपा नेपालका मागलाई ओलीले पूरा गर्ने भन्दा पनि रणनैतिक रुपमा प्रयोग गर्ने पक्षमा रहेको नेकपाका एक नेताको भनाई छ ।
नेपाली कांग्रेसले सरकारविरुद्ध रणनीति बनाइरहेका बेला राजपा नेपाललाई आफनो ग्रिपबाट फुत्किन नदिन ओलीले रणनीति खेलेको बताइएको छ । राजपालाई आफू मातहतमा राखिरहेमा थोरै भएपनि राहत हुने ओलीको बुझाई छ ।
उता, संयोजक फुत्किएपछि रिसाएका महन्थ ठाकुरले बिजुली बजारमा अड्डा जमाएर बसेका छन् । दिनभरि बिजुलीबजारको कार्यालयमा हिटर तापेर बस्ने गरेका ठाकुर अध्यक्ष मण्डलको बैठकमा बोलाउने वित्तिकै बिरामी हुन्छन ।
फुत्किएको संयोजक पद फिर्ता गराउन दिल्ली बसेर आएका ठाकुरकै कारण राजपा नेपाल विघटनको संघारमा पुगेको छ ।
ठाकुरले आफू निकटका नेताहरूलाई बिजुलीबजारमा बोलाएर छलफल गर्ने गरेको स्रोतको भनाइ छ । पूर्व तराई मधेस लोकतान्त्रिक पार्टीका नेताहरूको जमघट हुने गरेको बिजुली बजारमा राजपाका संयोजक राजेन्द्र महतोले निगरानी गर्ने गरेका छन ।
राजपाको बबरमहलस्थित पार्टी मुख्यालयमा ठाकुर लामो समयदेखि गएका छैनन । उनी महतोलाई संयोजक मान्न तयार भएका छैनन । ठाकुरकै कारण राजपामा ठूलो तनाव भएको छ ।















प्रतिक्रिया