काठमाडौं, १० पुस । तत्कालीन एमालेका ओली र नेपालपक्षबीचको ‘टकराव’ यो बैठकमा पनि प्रस्टै देखियो। तर, माओवादी धारका सदस्यहरुले प्रतिवेदनको समर्थन गर्दा ओलीले ढाडस पाए । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
‘उहाँहरु (माओवादी धारका नेताहरु) अलिक नरमरुपमा प्रस्तुत हुनुभयो। एमाले धारभित्रका नेता भने कडा रुपमा बहसमा उत्रिनुभयो,’ स्थायी समिति सदस्य वेदुराम भुसालले अन्नपूर्णसँग भने। बैठकमा माओवादी धारका नेता ‘सन्तुलनकारी’ भूमिकामा देखिए।
नेकपामा आमन्त्रितसहित कुल ५१ जनाको स्थायी समिति छ। त्यसमध्ये जर्नादन शर्मा र देवेन्द्र पौडेल बैठकमा अनुपस्थित छन्। अध्यक्षद्वयले प्रश्नको जवाफ दिन बाँकी छ। अर्को बैठक पुष ११ मा बोलाइएको छ।
एक स्थायी समिति सदस्यका अनुसार बैठकमा ओली र गौतमका बीच ‘छुद्र शैली’ मै घोचपेच चल्यो। माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डेलगायतका नेता बढी आक्रामक देखिए।
‘सरकारको कार्यशैली, नियुक्ति र संगठनात्मक कुरामा मात्र बढी असन्तुष्टि दखियो,’ एक नेताले भने, ‘यस्तो बहसले अन्ततः कहीँ न कहीँ विचारधारात्मक रुपमा लिन खोजेपनि त्यसैका आधारमा लाइन निर्धारण हुँदैन।’
स्थायी समिति सदस्य लेखराज भट्टले माओवादी धारका नेता व्यक्तिकेन्द्रित नभई प्रतिवेदनकेन्द्रित भएको बताए।
‘हामीले दायाँबायाँ गर्ने बित्तिकै संक्रमणकालीन अवस्थामा रहेको एकता प्रक्रियामै संकट आउँथ्यो। त्यही भएर हामीले सकेसम्म सन्तुलन मिलाउने ढंगले विचार राख्यौं,’ उनले भने, ‘तर उतापट्टि (पूर्व एमाले) मा भने पहिले देखिकै संकट रहेछ। एक अर्कोलाई पेल्यो, पेल्न खोजियो भन्ने तर्क बढी सुनियो।’
नेता नारायणाजी श्रेष्ठले एकतालाई सघाउनकै लागि धारणा राखेको बताए। ‘सन्तुलित र मध्यमार्गी धारमा भन्दा पनि हामीले एकता प्रक्रिया टुंगो लगाउनु पर्ने आवश्यकता रहेकोले समान धारणा राख्यौं,’ उनले भने।















प्रतिक्रिया