भक्तपुर, १८ माघ । यसवर्ष विद्यार्थीको फलामे ढोकाको रुपमा चिनिएको प्रवेशिका एसएलसी परिक्षामा करिब ६ लाख विद्यार्थी सहभागी हुने भएका छन् ।
यसपालिदेखि भने फलामे ढोका केही खुकुलो पारिएको छ । कारण ग्रेडिङ प्रणाली । ग्रेडिङ प्रणालीले एसएलसीमा कोही पनि विद्यार्थी फेल हुने छैनन् ।
आगामी चैत ५ गते सुरु हुने परीक्षामा नियमिततर्फ चार लाख २७ हजार ८२ र आम्सिकतर्फ एक लाख ४५ हजार १२५ गरी पाँच लाख ७२ हजार विद्यार्थीले सहभागी जनाउने परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा मनाङमा सबैभन्दा थोरै ७४ जना र सबैभन्दा धेरै काठमाडौँमा ३४ हजार ४२१ विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुने छन् ।
त्यसैगरी पूर्वाञ्चलबाट एसएलसी दिने विद्यार्थीको सङ्ख्या एक लाख ३५ हजार ३०५ छ भने मध्यमाञ्चलबाट एक लाख ७८ हजार ६६० विद्यार्थीले एसएलसी परीक्षा दिने भएका छन् ।
पश्चिमाञ्चलमा एक लाख एक हजार ७६१, मध्यपश्चिमाञ्चलमा ८६ हजार ७४८ र सुदूरपश्चिमाञ्चलमा ६९ हजार ६८८ विद्यार्थी एसएलसीमा सहभागी हुने कार्यालयले जानकारी दिएको छ ।
परीक्षाका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रश्नपत्र छपाइ कार्य तीव्र पारिएको कार्यालयले जानकारी दिएको छ । त्यसैगरी परीक्षाका लागि आवश्यक सामग्री जिल्ला–जिल्ला पठाउन थालिएको पनि कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार चैत ५ गते पहिलो दिन अनिवार्य अङ्ग्रेजी, ६ गते अनिवार्य नेपाली, ८ गते अनिवार्य गणित, ९ गते विज्ञान, १० गते सामाजिक, ११ गते स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, १२ गते ऐच्छिक प्रथम र १३ गते ऐच्छिक दोस्रो विषयको परीक्षा हुने तथा प्राविधिक शिक्षाको प्रयोगात्मक परीक्षा भने १६ गते सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ ।















प्रतिक्रिया