काठमाडौं, ९ पुस । नेकपाका महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेलले अध्यक्ष ओली र प्रचण्डका साथै सरकारको कामको प्रतिरक्षा गरेका छन् ।
पोखरेलले गौतमसहित कतिपय नेताहरूले नेतृत्व र सरकारको पूर्वाग्रही विचारसहित विरोध मात्र गरेर कुण्ठा पोखेको आरोप लगाए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
पौडेलले शनिबारको बैठकमा लिखित रूपमा बैठकमा उठेका प्रश्नहरूको सम्बोधन गर्ने प्रयास गरे । वरिष्ठ नेता नेपाल निकट नेताहरूले महासचिवको जिम्मेवारी बाँडफाँडमै प्रश्न उठेकाले पौडेलले पूर्वयोजनाअनुसार अध्यक्षद्वयसँगको सल्लाहमै जवाफ दिनेगरी प्रस्तुत भएको ठानेका छन् ।
घनश्याम भुसालले अध्यक्ष ओलीले थुक, खकार, वीर्य र रगत टेस्ट गरेर आफ्ना मान्छेहरूलाई छानीछानी कमिटीमा राख्दै गुटबन्दी गरेको र त्यो नश्लवादमा परिणत भएको आरोप लगाएका थिए ।
त्यस्तै, सुरेन्द्र पाण्डेले मुख्यमन्त्री शंकर पोखरेलले पद जोगाउन बैठकलाई नै इमोस्नल ब्ल्याकमेलिङ गरेको आरोप लगाएका थिए ।
पौडेलले जवाफ फर्काउँदै कतिपयले आलोचनाका नाममा बैठकमै थुक, खकार, ब्ल्याकमेलिङजस्ता अमर्यादित र अशिष्ट शब्द प्रयोग गरेकाले त्यस्ता शब्द सच्याइनुपर्ने र सम्बन्धितले कमजोरी महसुश गर्नुपर्ने विचार राखेका थिए ।
अध्यक्ष ओलीको योजनाअनुसार पौडेललाई जवाफ फर्काउन लगाइएको हुन सक्ने नेपाल समूहका नेताहरूको बुझाइ छ ।















प्रतिक्रिया