लण्डन, ७ पुस । म्यानचेस्टर युनाइटेडका फरवार्ड एलेक्स सान्चेजले साथी खेलाडीसँग प्रशिक्षक जोसे मोरिन्हो बर्खास्त हुनेबारे बाजी राखेको खबर झुठ रहेको बताएका छन् ।
सान्चेजले टिमका साथी खेलाडी मार्कस रोजोसँग मोरिन्हो बर्खास्त हुनेबारे बाजी राखेको दाबीसहितको खबर आएको थियो । चिलेका सान्चेजले यो कुरा सीधै झुठ रहेको बताएका छन् ।
आफूले मोरिन्हो बर्खास्त हुन्छन् भनेर कसैसँग बाजी नराखेको सान्चेजको भनाई छ ।
म्यानचेस्टर युनाइटेडले गएको मंगलबार जोसे मोरिन्होलाई क्लबको प्रशिक्षकबाट बर्खास्त गरेको थियो । सान्चेजले केही दिनमा मोरिन्हो बर्खास्त हुने भन्दै रोजोसँग २० हजार पाउण्ड (२८ लाख ३९ हजार १८७ हजार नेपाली रुपैयाँ)को बाजी राखेको दाबीसहितको खबर आएको थियो ।
तर गएको जनवरीमा आर्सनलबाट म्यानचेस्टर युनाइटेड आएका ३० वर्षका सान्चेजले भने खबर झुठ रहेको भन्दै खण्डन गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘यो पूर्ण रुपमा झुठ हो । जोसेले मलाई विश्वको उत्कृष्ट टिममा खेल्ने मौका दिए । उनीप्रति मेरो आदर र आभार छ । हामी साँचो अर्थमा एकताबद्ध छौँ ।’
सान्चेजले युनाइटेडबाट ३० खेलमा अहिलेसम्म चार गोल गरेका छन् । उनी गएको नोभेम्बरदेखि चोटका कारण मैदान बाहिर छन् ।















प्रतिक्रिया