बुटवल, ७ मंसिर । पाँच नम्बर प्रदेश सभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिको शुक्रबारको बैठकमा नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधिको विषयमा छलफल गर्ने कार्यसूची थियो।
समितिमा १३ जना सदस्यलाई बैठकको विषयबारे तीन दिन अगावै जानकारी दिइएको थियो। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी सहभागी बैठकमा समितिका सभापति दधिराम न्यौपानेले बैठक सुरु गर्दै सदस्यलाई धारण राख्न आग्रह गरे।
तर, बैठकमा सहभागी अधिकांश सदस्यले न त कार्यविधि पढेका थिए, न त बैठकको एजेण्डा नै बुझेका थिए समितिका सांसद रामजीप्रसाद घिमिरेले कार्यविधि हेर्न नभ्याएको भन्दै सुनेका कुरा भन्दै बैठकमा धारणा राखे।
‘कार्यविधि हेर्ने भ्याएको छैन, तैपनि यो घाटगद्धी गरेर बिक्री गर्दा लागत बढ्छ भन्ने कुरा सुनिएको छ, यसलाई सच्याउनुपर्छ’, उनले भने।
संसदीय समिति मिनी संसद् हो। समिति बैठकमा मात्रै होइन, प्रदेश सभा बैठकमा समेत सांसदहरू हचुवाका भरमा भाषण गर्छन्।
संसद्को कार्यविधि तथा संसद्बाटै पारित भएका नीति नियमको बारेमा समेत उनीहरू बेखबर छन्। सांसद डा।कृष्ण न्यौपानेले समितिको बैठकमा नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि तत्काल लागू गर्नुपर्ने तर्क गरे।
‘कार्यविधि लागू नहुँदा चोरी निकासी बढ्यो, सरकारले छिटो लागू गर्नुपर्यो’, उनले मन्त्रीतर्फ इंगित गर्दे भने। शुक्रबारको समितिको बैठकमा सात जना सदस्य सहभागी थिए। सभापति दधिराम न्यौपाने, सदस्य थानकुमारी थापा र सुनिता ठठेरले मात्रै विषयवस्तु बुझेर सरकारलाई निर्देशनात्मक धारणा राखेका थिए।















प्रतिक्रिया