काठमाडौँ, १७ माघ । एकीकृत नेकपा माओवादीले सहमतिका आधारमा संविधान जारी गर्न जनपरिचालनसहितको सडक सङ्घर्ष गर्नका लागि साङ्गठनिक संरचनामा नै परिवर्तन गर्ने भएको छ ।
एमाओवादीको शनिवार बसेको केन्द्रीय कार्यालयको बैठकले पोलिटब्युरो, केन्द्रीय सदस्यहरुलाई प्रत्येक जिल्ला र क्षेत्रतहसम्म परिचालन गर्ने र जनतालाई सहमतिका आधारमा संविधान बन्न नसक्नुको कारण बारेमा जानकारी गराउने निर्णय गरेको छ ।
विगतका सहमति तथा सम्झौताका आधारमा सत्तारुढ दल संविधान निर्माणमा तयार नभएको ठहर गर्दै एमाओवादीले जिल्ला र क्षेत्रमा आफ्ना धारणा राख्न लागेको पार्टीका प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।
शनिवार केन्द्रीय कार्यालयको बैठक बसेका कारण केन्द्रीय समितिको बैठक बस्न नसकेको जानकारी दिँदै प्रवक्ता शर्माले आइतबार बिहान ११ बजे केन्द्रीय समिति बैठक बस्ने बताउनुभयो ।
एमाओवादीका राज्य समितिका इन्चार्जले जनता सडकमा नआएको भन्ने रिपोर्टिङ गरेपछि त्यसको विषयमा केन्द्रीय कार्यालयले ठोस अवधारणा तयार पारेको उहाँको भनाइ छ । तर सो अवधारणा के हो भन्नेबारेमा भने प्रवक्ता शर्माले जानकारी दिनुभएन । एमाओवादीको संसदीय दलले यसअघि नै आफ्ना सांसदलाई जिल्ला जान निर्देशन दिइसकेको छ । रासस















प्रतिक्रिया