१० कार्तिक २०८३, मंगलबार

कांग्रेसमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र दुवै सहमहामन्त्री निर्वाचनबाट

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४पुस । लामो रस्साकस्सीपछि कांग्रेस शीर्ष नेताहरू पदाधिकारी र केन्द्रीय सदस्य थप्ने सहमतिमा पुगेका छन् । अब सभापति र कोषाध्यक्षबाहेक उपसभापति, महामन्त्री र सहमहामन्त्री दुई–दुईजना रहनेछन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

कोषाध्यक्षबाहेकका सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुनुपर्नेछ । कोषाध्यक्ष भने कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट सभापतिले मनोनीत गर्नेछन् ।

यसअघि कांग्रेसमा सभापतिबाहेक महामन्त्री दुई, उपसभापति, सहमहामन्त्री र कोषाध्यक्ष एक–एक गरी ६ पदाधिकारी थिए । सभापति, एक महामन्त्री र कोषाध्यक्ष मात्रै निर्वाचित हुनुपर्ने व्यवस्था थियो ।

त्यस्तै, केन्द्रीय कार्यसमिति पनि १ सय ६१ सदस्यीय बनाउने सहमति भएको छ । त्यसमध्ये ३३ सदस्य सभापतिले मनोनीत गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । अहिले केन्द्रीय समिति ८५ सदस्यीय छ । तीमध्ये २१ सदस्य सभापतिद्वारा मनोनीत हुन् ।

संस्थापन र नेता रामचन्द्र पौडेल पक्षको आ–आफ्नै अडानका कारण महासमिति बैठक सकिने कार्यसूची रहेको मंगलबार दिउँसोसम्म पनि विधानको प्रस्ताव बैठकमा पेस हुन सकेको थिएन । पौडेल पक्षले उपसभापति, महामन्त्री र सहमहामन्त्री तीन–तीनजना राखेर पदाधिकारी ११ सदस्यीय बनाउने र सबै निर्वाचित भएर आउनुपर्ने प्रस्ताव गरेको थियो ।

तर, सभापति शेरबहादुर देउवा पक्षले उपसभापति, महामन्त्री र सहमहामन्त्री दुई–दुईजना राख्ने र तीमध्ये एक–एकजना मनोनीत गर्ने प्रस्ताव गरेको थियो । यही विवादले महासमिति बैठक दुई दिन लम्बिएको छ । मंगलबार दिउँसो बैठक स्थगित गरेर शीर्ष नेताहरूसहित विधान संशोधन मस्यौदा समितिका सदस्यहरू सहमति खोज्न छलफलमा जुटेका थिए । साँझ अबेर नेताहरू सहमतिमा पुगेका हुन् ।

‘हामीले रामचन्द्रजीसहित सबै शीर्ष नेताहरूको सहमतिमा पदाधिकारीको विषय टुंगो लगाएका छौँ,’ उपसभापति विमलेन्द्र निधिले नयाँ पत्रिकासँग भने, ‘बुधबार १२ बजे केन्द्रीय समितिबाट यसलाई सर्वसम्मत रूपमा पारित गर्छौँ । बिहीबारसम्म छापेर सोही दिन बन्दसत्रमा विधान प्रस्तुत हुन्छ ।’