१० कार्तिक २०८३, मंगलबार

नेकपा स्थायी समिति बैठक : एकताको नाममा लखेटियो

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । नेकपाको स्थायी समिति बैठकमा मंगलबार बोल्ने नेताहरू पनि आपसमा आरोप प्रत्यारोपमा उत्रिएका छन्। प्रभावशाली नेताहरूले दुई पार्टीको एकतापछि गुटबन्दीले झन् नराम्रो रूप लिएको दाबी गरे। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

स्थायी समिति सदस्य भीम रावलले बैठकमा लिखित रूपमा ३५ बुँदे फरक धारणा राखेका छन्। उनले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा समुचित नीति नआएको र संगठनात्मक कार्यक्रम नलेखिएको भन्दै आलोचना गरे।

एकीकृत पार्टीमा दुई अध्यक्ष हुने निर्णय भएपनि सचिवालय बनाउँदा मनोमानी गरिएको पनि उनले जिकिर गरे। ‘पार्टीको मुख्य नेतृत्व कसले छनौट गर्ने, सचिवालय, पूर्ण कमिटी र महाधिवेशन कसले गर्ने ? यो कुनै व्यक्तिको इच्छा अनुसार हुने हो र ? प्रतिनिधित्व, योग्यता र वरियताको मापदण्ड के हुने ? कुन निकायले निर्धारण गर्ने ?’ रावलले लिखित धारणा राख्दै टिप्पणी गरे।

संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउनुको औचित्यबारे पनि रावलले पार्टी नेतृत्वलाई प्रश्न गरे। ‘आफ्नो स्पष्ट बहुमत हुँदाहुँदै पनि पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई ढृढतापूर्वक कार्यान्वयनन गर्ने बाटोमा हिंडनुपर्नेमा विपरीत सिद्धान्त बोेकेका पार्टीलाई सरकारमा ल्याउने कुरा कसरी आयो रु ’ रावलले भने।

नेता योगेश भट्टराईले पार्टी एकताका नाममा फरक मत राख्ने नेता कार्यकतालाई लखेटिएको भन्दै नेतृत्वले भविष्यमा चैनको निद्रा सुत्न नसक्ने टिप्पणी गरे। ‘एकताका नाममा एउटा विचार समूहका नेतालाई लखेट्ने, सिध्याउने काम गरिरहनुभएको छ। मान्छे त लखेट्नु होला तर ती मान्छेको भूतले सपनामा पनि लखेट्छ, चैनसँग सुत्न पाउनहुन्न,’ भट्टराईले भने, ‘म महाधिवशेनवाट निर्वाचित पार्टी सचिव र प्रचार विभाग प्रमुख भएकाले मात्र अहिले यो कमिटीमा छु। तर यो स्थायी समिति एमालेको नेताहरूबाट छनौट हुने भएको भए सायद म यहाँ हुने थिइन।’

उनले दुई अध्यक्षको प्रतिवेदनलाई अपूर्ण, अस्पष्ट र वैचारिक रूपमा भुत्ते भएको भन्दै आलोचना गरे। ‘राजनीतिक प्रतिवेदन वैचारिक रूपमा भुत्ते र अष्पष्ट छ। प्रतिवेदन भनेको पार्टी पंक्तिलाई प्रशिक्षित गर्ने हतियार हो। भुत्ते, काट्दै नकाट्ने हतियार लिएर लड्न जाऊ भनेर युद्ध जित्न सकिँदैन।’

भट्टराईले वामदेव गौतमको प्रतिवेदनमा कतिपय राम्रा कुरा रहेकोले त्यसलाई पनि समेटनुपर्ने बताए। गौतमले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीसँग व्यक्तिगत सम्बन्ध बिग्रेर मात्र प्रतिवेदन ल्याइएको भए गलत हुने भन्दै मूल प्रतिवेदन नै पुनर्लेखन गर्न आग्रह गरे।

अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको चर्को आलोचना हुन थालेपछि उनी पक्षधर नेताहरूले मंगलबार उनको बचाउ गरे। मंगलबार बोल्ने ८ मध्ये ५ नेता अध्यक्षद्वयका पक्षमा बोलेका थिए।

शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, केशव बडाल, सत्यनारायण मण्डल र सोमनाथ प्यासीले अध्यक्ष ओलीको प्रशंसा गरे। स्थायी समिति सदस्य टोपबहादुर रायमाझी भने बीचबीचमा रहेर प्रतिवेदनको समर्थन बोलेको एक नेताले सुनाए।