१० कार्तिक २०८३, मंगलबार

प्रवेश परीक्षाबिनै एमबीबीएस पढाइ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, ४ पुस । जनकपुरस्थित जानकी मेडिकल कलेजले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)लाई ढाँटेर ३४ भारतीय विद्यार्थीलाई एमबीबीएस कक्षामा भर्ना गरेको खुलेको छ ।

पहिलो वर्षको परीक्षाका लागि आईओएममा फर्म पुगेपछि ती भारतीय विद्यार्थी प्रवेश परीक्षामै सामेल नभएको पाइएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

एमबीबीएस अध्ययनका लागि नेपाल आउने विदेशी विद्यार्थी तथा विदेश जाने नेपाली विद्यार्थीले आईओएमले लिने प्रवेश परीक्षामा उत्तीर्ण हुनैपर्ने प्रावधान छ । तर ती ३४ विद्यार्थीले प्रवेश परीक्षा नै दिएका छैनन् ।

कलेजले प्रक्रिया मिचेर उनीहरूको भर्ना लिएकोमा आईओएमले पुस ५ देखि हुने एमबीबीएस पहिलो वर्षको परीक्षाबाट वञ्चित गरेको छ । जानकी मेडिकल कलेजले एमबीबीएस प्रथम वर्षको अन्तिम परीक्षाका लागि ८० विद्यार्थीको फर्म आईओएमलाई पठाएको थियो ।

‘जानकी मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षमा ४६ विद्यार्थी अध्ययन गरिरहेको तथ्यांक मात्र हामीसँग छ,’ आईओएमका डिन डा.जगदीशप्रसाद अग्रवालले भने, ‘बाँकी विद्यार्थीलाई हामी चिनेका छैनौं ।’

जानकी मेडिकल कलेजका कार्यकारी प्रमुख धनध्वज मल्ल ठकुरीले परीक्षाका लागि पठाइएका ८० विद्यार्थीको फर्ममध्ये ३४ जनाको अस्वीकृत भएको स्विकारे । कलेजको एमबीबीएसको यो १३ औं ब्याच हो ।