
काठमाडौँ, ३ पुस । मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘आजको आवश्यकता, विद्यार्थीहरुमा वित्तीय साक्षरता’भन्ने मुल आशयले २१५ औ वित्तीय साक्षरता कार्यक्रम सत्यनारायण माध्यमिक विद्यालय, विराटनगरमा गरेको छ ।
विगतमा कार्यक्षेत्र भित्रका स्थानियहरुलाई ( महिला र पुरुष) यस कार्यक्रममा सहभागी गराउँदै आएको बैंकले गत आर्थिक वर्षदेखि विद्यार्थीहरुमा समेत वित्तीय साक्षरता कार्यक्रम अभियानको रुपमा सञ्चालन गरेको हो ।
वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबारबारे चेतना जगाउने, विद्यार्थीहरुको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनिकरणको लागि बीमाको प्रयोग, सफा नोट सभ्यताको प्रतिक, बैंक तथा वित्तीय संस्थाहरुको प्रकारलगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।
विद्यार्थीहरुको समेत आय र व्ययको लेखाजोखा गरी कसरी फजुल खर्च कम गर्न सकिन्छ ? भन्ने पनि कार्यक्रमको विषयवस्तुमा समावेश गरिएको थियो । बैंकले हालसम्म २१५ स्थानमा करीब ४० हजार जना स्थानीय तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रममा सहभागी गराइ सकेको छ ।
कार्यक्रममा उपस्थित अथितिहरुले मुक्तिनाथ विकास बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रममार्फत विद्यार्थीहरुमा जुन वित्तीय चेतना र वित्तीय ज्ञानमा अभिबृद्धि गर्ने प्रयास गरेको छ यो कार्य अत्यन्तै प्रशंसायोग्य र अति महत्वपुर्ण रहेको बताएका थिए ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत वित्तीय साक्षरता अभिबृद्धि कार्यक्रमलाई अभियानको रुपमा संचालन गर्दै आएको छ । आगामी दिनमा कार्यक्षेत्र भित्रमा व्यापक रुपमा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने योजना बनाएको छ ।
कार्यक्रममा विद्यार्थीहरुले आफ्नो दैनिक अध्यापनमा समेत सघाउ पुग्ने र अध्ययनमा साक्षर भएपनि वित्तीय रुपमा साक्षर नभएको महसुस गरी आफूले अब वित्तीय निर्णय लिन सक्षम भएको बताएका थिए । उनीहरुले बैंकले गरेको यस प्रकारको कार्यक्रमलाई व्यापक रुपमा संचालन गर्न सुझाव दिएका थिए ।















प्रतिक्रिया