४ कार्तिक २०८३, बुधबार

कांग्रेसको बन्दसत्रभित्र घनश्याम भुसालको चर्चा हुँदा विमलेन्द्र निधि बेपत्ता

5.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिद्वारा पेश गरिएको राजनीतिक प्रतिवेदनमा महासमिति सदस्यहरूले चर्को विरोध गरेका छन । विरोधपछि निधि सोमबारको बन्दसत्रमा दिनभरि देखिएनन ।

कांग्रेसका उपसभापति निधि बन्दसत्रमा उपस्थित नभएपछि महासमिति सदस्यहरूले के भयो भनेर बन्दसत्रमा प्रश्न गरेको एक सदस्यले बताए । महासमिति सदस्यहरूले राजनीतिक प्रस्ताव पेश गरेका उपसमिति निधिलाई आफूहरूको सुझाव सुन्न बन्दसत्रमा खोजेका थिए ।

केही सहभागीले त उपसभापति खोइ भनेर प्रश्न गरेको एकजना महासमिति सदस्यले बताए । महासमिति सदस्यहरूले निधिलाई बोलाउँदा पनि मागको सुनुवाई नभएको सदस्यहरूले गुनासो गरेका थिए ।

कहाँ गएका थिए त निधि ? यसको आधिकारिक जवाफ सोमबार साँझसम्म पनि कसैले दिएनन् । सहभागीले उनलाई कार्यक्रमस्थलमा पाउँदा पनि पाएनन् । विजयकुमार गच्छदारका कारण निधि दिक्क भएको बताइएको छ ।

गच्छदारको दमदार प्रस्तुतिले उदघाटन सत्रमा निकै राम्रो बनेको थियो । गच्छदारले शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई हात मिलाउन लगाएको कुरा सोमबारसम्मका सञ्चारमाध्यममा आएको थियो । यसले निधिको टाउको दुखाईको विषय बनेको चर्चा छ ।

निधिको शनिबारको सम्बोधन मन्तव्यको कुनै अर्थपूर्ण नभएको र सहभागीहरूले कुनै सकारात्मक टिप्पणी नगरेकाले उनी आइतबारदेखि मुडअफ रहेको बताइएको छ । त्यसमा पनि शनिबार साँझ उनको राजनीतिक प्रतिवेदन आएपछि त निधिको झन आलोचना नै भएको थियो । उनको प्रतिवेदनले धेरै कुरा समेटन नसकेको आरोप छ । जसका कारण सहभागीहरूले निधिमाथि दर्जनौँ प्रश्न उठाएका छन ।

एकजनाले त उपसभापति निधि आफैले प्रतिवेदन नलेखेर नरहरि आचार्यलाई लेख्न लगाएको आरोप लगाएका थिए । राजनीतिक प्रतिवेदनमा पनि आचार्यले लेखेको भनेर जस आफूलाई नआएको भन्दै निधि दिक्क भएको एक नेताले बताए ।

महासमिति बैठकमा उपसभापति जस्तो व्यक्तिले तयार पारेको राजनीतिक प्रतिवेदन हल्का र कुनै मार्ग निर्देशनका रुपमा नरहेको भन्दै महासमिति सदस्यहरूले नै सभाहलमा कडा विरोध गरेका छन ।

निधिको प्रतिवेदनको निकै कडा आलोचना गर्दै नेकपाका नेता घनश्याम भुसालले समेत आफू कांग्रेस पार्टीको राजनीति प्रतिवेदन पढेर निराश भएको प्रतिक्रिया दिएका छन । त्यो प्रतिवेदनमा कांग्रेसको राजनीतिक विचार र भोलीको दिशानिर्देश कसरी हुनसक्छ भनेर नेकपाका नेता भुसालले सञ्चारमाध्यममै दिएको अन्तर्वार्ताले निधिलाई झनै लाजमर्दो बनाएको चर्चा छ ।

त्यो प्रतिवेदनलाई पनुर्लेखन गर्नुपर्ने भनी नेकपाका नेता भुसालले भनेजस्तै अधिकांश महासमिति सदस्यहरूले पनि बन्दसत्रमा माग राखेका थिए ।

महासमिति बैठकमा निधिको उपस्थिति उपसभापतिको जस्तो नभएको धेरै महासमिति सदस्यहरूको गुनासो छ । महासमिति बैठकको पूर्वसन्ध्यामा आयोजना गरिएको केन्द्रीय समिति बैठकमा नै उनले अनावश्यक विवाद गरेर हात हालाहालको परिस्थिति बनाएको र त्यसको नकारात्मक प्रचार नेपाली मिडियामा भएकोले यसबाट बैठकमा सहभागी हुन आएका महासमिति सदस्यहरूलाई निराश बनाएको एक नेताले बताए ।

सभापति देउवाले पनि निधिको कार्यशैलीको आलोचना गर्दै हप्काएको स्रोतले जनाएको छ । अर्को भित्री कुरा के हो भने निधि कांग्रेसमा गच्छदारलाई प्रवेश गराएकोमा देउवासँग शुरुदेखि नै खुसी छैनन् ।

कांग्रेसमा गच्छदार आएपछि निधिले सार्वजनिक रुपमै आफ्ना विरुद्ध देउवाले सौता हालेको भनी टिप्पणी गरेका थिए । उनको त्यो असन्तुष्टि यस पटकको महासमिति बैठकमा स्पष्टै देखिएको छ ।

हालैमात्र निधिले जनकपुरमा योगी आदित्यनाथको आगमनको विरोध गरेका थिए । सभापति देउवाले पार्टीलाई विवादमा ल्याउने गरेर किन योगी आदित्यनाथको विरोध गरेको भनेर निधिलाई हप्काएका थिए ।