
काठमाडौं, २ पुस । प्रमुख प्रतिपक्षीको प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको आरोपको थाकलाई सम्हाल्न नसकिरहेका बेला नेपाली कांग्रेसका शीर्ष तहका नेताहरूका लागि कांग्रेस महासमिति बैठकमा दुई मुद्दा पेचिलो बनिरहेको छ ।
सभापति शेरबहादुर देउवाइतरका नेताले राखेको हिन्दु धर्मको पक्षमा कांग्रेस उभिनुपर्ने र युवा नेताले ७० बर्षपछि पार्टीबाट निस्क्रिय हुनुपर्ने प्रस्ताव अगाडी सारेपछि मुद्दा पेचिलो बनिरहेको हो ।
‘पार्टीमा युवा हावी हुनुपर्छ, थितिको राजनीतिका लागि अनुभवी नेताको सुझाव लिने तर नेतृत्वे हस्तान्तरण गर्नुपर्छ भन्ने विषय उठेको छ’, नेता धनराज गुरुङले भनेका छन्,‘यहि विषयमा गहन छलफल हुनेछ । महासमिति सदस्यहरू पनि यस विषयमा सकारात्मक देखिनुभएको छ ।’
महासमिति बैठक बस्नुअघि यो मुद्दा केन्द्रीय समितिमा पनि पेचिलो बनेको थियो । वीपी कोइरालाले युवा अवस्थामा नै कांग्रेसको उचाई कायम गरेको स्मरण गर्दै युवाले त्यसबेलाका नेताको नेतृत्वमा कांग्रेस प्रभावकारी हुन नसक्ने मत राखेका छन् ।
अर्कातिर महामन्त्री डा. शशांक कोइराला, नेता शंकर भण्डारीलगायतले हिन्दु धर्मको विषयमा कांग्रेसको पक्षधरता कायम नभए अझ खुम्चिने भन्दै महासमिति सदस्यहरूसँग लविङ कायम गरेका छन् । जसमा उनीहरूको मत प्रभावकारी देखिने संकेत सदस्यहरूले अनौपचारिक रूपमा नै गरेका छन् । उक्त विषयका सन्दर्भमा उपसभापति विमलेन्द्र निधि र भण्डारीबीच कडा भनाभन पनि भएको थियो ।
तर महासमितिको मूल लक्ष्य पार्टीको वर्तमान संरचनालाई संघीय ढाँचामा ढाल्नु रहेको बताइन्छ । वर्तमान राजनीति, दुई तिहाई बहुमतको सरकारका कामकारबाही तथा पार्टीका भावी कदम योजनाका हिसाबले अघि बढ्नुपर्ने प्रस्तावलाई पनि अघि सारिसकेको छ । ‘नेतृत्वका कारण इतिहासकै कठिन मोडमा कांग्रेस घिस्रिरहेको मात्र छैन, प्रभावकारी प्रतिपक्षीका हिसाबले संसदमा बोल्न सकेको छैन’, एक नेता भन्छन्,‘सरकार यति कमजोर भएका बेला पनि प्रहार गर्न नसक्नुको पछाडी नेतृत्वको कमजोरी रहेको ठहर भइसकेको छ ।’
त्यसो न कांग्रेसमा एउटा मतमा ऐक्यबद्धता हुने निश्चित छ । कि, उसले महासमिति बैठक सकिएपछि देशव्यापी रूपमा सरकारविरुद्ध सभा र कार्यक्रम गर्नेछ । सरकारका काम कारबाहीको तिव्र आलोचना जनतामा सुनाएर आफुप्रति आकर्षण गराउने तयारी छ ।
२००७ साल र २०४६ सालका आन्दोलन र त्यसले ल्याएका परिवर्तनको अगुवाइ गरेको कांग्रेसले त्यसपछिका सत्ताको नेतृत्व गरेको थियो । २०६२–६३ सालको जनआन्दोलनमा पनि प्रमुख अगुवा हुँदा समेत कांग्रेस संविधानसभाको पहिलो चुनावबाट प्रतिपक्षमा सीमित बनेको थियो । दोस्रो संविधानसभाको निर्वाचनमा उदाउन खोजे पनि १३ औं महाधिवेशनपछि आएको देउवा नेतृत्वले कमजोरीको थुप्रो लगाएको आरोप लागेको छ ।
यसको प्रमाणका रूपमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा व्यहोरेको हारमात्र होइन, स्थानीय तहको चुनावमा तत्कालिन माओवादीलाई चितवनमा बोक्नु प्रमूख कारण भएको पनि बताइएको छ । महासमिति सदस्यहरूले ‘नेताले विश्राम लिएर नयाँ चरणबाट कांग्रेसको उठान गर्न नसके पार्टी सक्किने’ सुझाव दिएका छन् ।
एक जना महासमिति सदस्य भन्छन्,‘जबसम्म नेतृत्व हस्तान्तरणका हिसाबमा अघि बढ्दैन त्यसबेलासम्म कांग्रेसको अस्तित्वको उचाईको बारेमा सोच्न पनि सकिँदैन ।’
कतिपयले भारतका ५ प्रदेशमा त्यहाँको कांग्रेस उदाउनुको कारण युवा नेतृत्व भएको उदाहरण पनि पेस गरेका थिए । राहुल गान्धी नेतृत्वमा आएपछि यसपटक भारतीय संस्थापनलाई मार खुवाउनेगरी उदय भएको पार्टी जस्तै नेपालमा पनि कांग्रेसले नेतृत्व हस्तान्तरणका लागि तयार हुनुपर्ने सुझाव दिइएको छ ।















प्रतिक्रिया