काठमाडौं, १७ माघ । विपक्षी दलको विरोधका बाबजुद सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले गठन गर्नुभएको प्रश्नावली प्रस्ताव समितिको पहिलो बैठकले विभिन्न निर्णय गरेको छ ।
बैठकले संविधानसभाका सभाषद् रमेश लेखकको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिले आइतबारको बैठकमा कार्यविधि तयार पारेर पेस गर्ने जिम्मा उपसमितिलाई दिएको छ । समितिको उपसमितिमा दीपक बोहोरा, भानुभक्त ढकाल, किरण यादव, दिलनाथ गिरी, श्रीमाया थकाली, अतहर कमाल मुसलवान सदस्य रहनुभएको छ ।
संविधानसभाका जेष्ठ सदस्य समयमै नआउदा निर्धारित समयको ३ घण्टापछि सुरु भएको प्रश्नावली प्रस्ताव समितिको बैठकले ७ सदस्यीय उपसमिति बनाउदै आइतबार दिउँसो १ बजे पूर्ण बैठक बस्ने गरी स्थगित भएको छ । जेष्ठ सदस्य कुलबहादुर गुरुङ नेपालगञ्जबाट बैठक पुग्न ढिला गरेपछि बैठक २० मिनट मात्रै बसेको थियो ।
उपसमितिका संयोजक रमेश लेखकले कार्यविधि तयार गर्न सुरु गरिएको जानकारी दिनुभयो । ‘भोलीको बैठकमा हामीलाई दिइएको जिम्मेवारी अनुसार कार्यविधि पेस गर्नेछौ,’ उहाँलेृ भन्नुभयो, ‘त्यसका लागि काम सुरु गरेका छौं ।’
प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीसहित विपक्षी दलको बहिष्कार गरेपनि प्रश्नावली निर्माणका लागि गठन भएको प्रस्ताव निर्माण समितिको बैठक बसरै छाडेको हो । विपक्षी मोर्चा सहभागी नभएपछि सिंहदरबार स्थित संवाद समितिको बैठक कक्षमा बसेको बैठकमा कांग्रेस–एमालेलगायत सत्तापक्षीय दलका ४९ जना मात्र सदस्य उपस्थित थिए ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ्गले गत माघ ११ गते प्रश्नावली प्रस्ताव समिति गठन गरेपछि शनिवार पहिलो बैठक बसेको हो । विपक्षी दलहरुले सदस्यको नामावली नदिदा समितिले पूर्णता पाउन सकेको छैन् । विपक्षीको भागमा १९ सदस्य परेका छन् ।
प्रमुख राजनीतिक दलहरुबीच राज्य पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणालीलगायतका विषयमा विवाद रहँदै आएको छ । बैठकले एमाओवादी र ऊ सम्बद्ध मोर्चामा रहेका दलहरुलाई समेत सहभागी हुन आग्रह गरेको छ । तर ती दलले समितिमा सहभागी हुन नसक्ने जनाउँदै आएका छन् ।
















प्रतिक्रिया