
काठमाडौं, १ पुष । ललितपुर प्याट्रीयट्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वालिफायरमा पुगेको छ ।
ज्ञानेन्द्र मल्लको ललितपुरले आइतबार शरद भेषावकरको भैरहवा ग्लाडीयटर्सलाई ६ विकेटले पराजित गरेको हो । आइतबारको यो खेल लिग चरणको अन्तिम खेल हो ।
टियु क्रिकेट मैदानमा भैरहवाले दिएको ९३ रनको सामान्य लक्ष्य ललितपुरले १४ ओभर २ बलमा ४ विकेट गुमाएर भेट्टायो । ललितपुरका लागि पवन सर्राफले सर्वाधिक २५ रन बनाउँदा सन्दिप जोरा १८ र जय किसान कोल्सावाला २२ रनमा नटआउट रहे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले १९ ओभरमा अलआउट हुँदै ९२ रन बनाएको थियो । भैरहवाका लागि रायन टेन डोसकाटेले सर्वाधिक ३७ रन जोडे । रबी इन्दर सिंहले २५ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेन् ।
ललितपुरका सन्नी पटेलले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए । उनी एकै खेलमा पाँच विकेट लिने पहिलो खेलाडी पनि बने ।
आइतबारको जितसँगै ललितपुरको ५ खेलबाट ८ अंक भएको छ । ललितपुर क्वालिफायरमा पुगेको छ । भैरहवाको ५ खेलबाट ६ अंक भएको छ । सोमबार हुने विराटनगर र काठमाडौं किङस इलाभेनबीचको खेलपछि क्वालिफायरमा पुग्ने दोस्रो टोलीको तय हुनेछ ।















प्रतिक्रिया