काठमाडौँ, १७ माघ । नेपाल टेलिभिजन (एनटिभी)ले तेस्रो समाचार च्यानललाई निकट भविष्यमै चौबिसै घन्टा प्रसारण गर्ने भएको छ ।
एनटिभीको ३०औँ वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा संचारमन्त्री मिनेन्द्र रिजालले २४ घण्टा सेवा सुरु गर्ने गरी आवश्यक निर्णय लिन एनटिभी संचालक समितिलाई निर्देशन दिनुभएको हो । मन्त्री रिजालले भन्नुभयो – ‘हालै प्रसारणमा आएको तेस्रो समाचार च्यानल कुन रुपमा सञ्चालन गर्ने हो ? बन्द नै गर्ने हो अथवा सार्वजनिक प्रसारण सेवा संस्था नबनुन्जेलसम्मका लागि स्थगित गर्ने हो ? यसबारे निर्णयमा पुग्न म सञ्चालक समितिलाई आग्रह गर्दछु ।’
मन्त्री रिजालले एनटिभी र रेडियो नेपालको मानवीय एवम् भौतिक सम्पत्तिलाई रुपान्तरण गरी सार्वजनिक प्रसारण सेवा संस्था बनाउने नीतिगत निर्णय भइसकेकाले यसलाई कार्यान्वयनमा लान मन्त्रालयले आवश्यक सहयोग पु¥याउने जानकारी दिनुभयो ।
एनटिभीले भने इटहरी तथा कोहलपुरबाट थप दुई नयाँ च्यानल प्रसारण गर्ने आन्तरिक तयारी सुरु गरेको छ । उपत्यका बाहिर इटहरी र कोहलपुरबाट दुई स्थानबाट नयाँ च्यानल सञ्चालनसँगै एनटिभीका पाँचवटा प्रसारण च्यानल हुनेछन् ।
स्थानीय पुरातात्विक वस्तु, रहनसहन, वेशभूषा, जीवन्त कला संस्कृति, भाषालाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा समाचार र जानकारीका माध्यमबाट निष्पक्ष र तटस्थ रुपमा प्रसारण गर्ने लक्ष्य ती दुई च्यानलले राखेका छन् ।
विसं २०४१ माघ १७ गते स्थापना भएको संस्थानले आफूलाई सार्वजनिक प्रसारण संस्थाको भूमिकामा उभ्याउँदै सूचना तथा समाचार सामग्री हाल भूउपग्रहमार्फत देशभर र विश्वका ११६ मुलुकका दर्शकमाझ पु¥याइराखेको छ ।
















प्रतिक्रिया