काठमाडौं, २९ मंसिर । नेकपाका पछिल्ला सबै बैठक प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीको सरकारीनिवास बालुवाटारमा हुँदै आएका थिए ।
तर, चार नेताले यसप्रति पनि आपत्ति जनाएपछि शनिबारको बैठक धुम्बाराहीस्थित पार्टी कार्यालयमा डाकिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
लामो समयपछि बैठक बस्न लागे पनि स्थायी समिति सदस्यहरूले भने छलफलका एजेन्डाबारे अनभिज्ञता जनाए ।
‘कम्तीमा दुई दिनपहिल्यै बैठकका एजेन्डाबारे जानकारी गराउने पार्टीको नीति छ, तर के छलफल गर्ने हो, कुनै जानकारी गराइएको छैन,’ स्थायी समिति सदस्य युवराज ज्ञवालीले भने, ‘किन गराइएन सचिवालयलाई नै थाहा हुने कुरा हो । सायद, अहिले उठिरहेका समसामयिक विषयमै छलफल हुने त होला नि ।’
केन्द्रीय कार्यालय सचिव श्रेष्ठले भने पार्टी एकीकरणसहितका थाती एजेन्डाहरूमा छलफल हुने बताए । सचिवालय बैठकमा एक दर्जन एजेन्डा प्रस्तावित छन् ।
पार्टीको जिल्ला तथा जनसंगठनहरू एकीकरण, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पोलिटब्युरो गठन, सरकार र संसद्को कामको समीक्षालगायत एजेन्डा थाती छन् । तर, शनिबारको एजेन्डा खुलाएर बैठक बोलाइएको छैन ।















प्रतिक्रिया