काठमाडौं, १७ माघ । एमाओवादी लगायतका मधेशी दलहरुको विरोध बढेपछि संविधानसभामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सत्तारुढ कांग्रेस–एमाले लगायतका दलको समर्थनमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रश्नावली समितिको बैठक बोलाएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।
एमाओवादी लगायतका विपक्षी दलले माघ ३ गतेको घटना दोहोर्याउन सक्ने भन्दै शर्तकता अपनाइएको डिआइजी माधव जोशीले जानकारी दिनुभयो ।
‘संविधानसभाभित्र कुनै घटना हुन नदिन शर्तक रहन गृहले निर्देशन दिएको छ,’ डिआईजी जोशीले भन्नुभयो, ‘त्यसै अनुरुप सुरक्षा व्यवस्था मजबुद बनाइएको छ ।’ उनका अनुसार संविधानसभामा मर्यादापालक समेत थपिएका छन् ।
संविधानसभा भवन गेटमा चेकजाँच समेत कडा पारिएको छ । संविधानसभाको बैठक अहिले बस्दै छ । सभाषद्हरु आउने क्रम जारी छ । यता विपक्षी दलका सभाषद्हरुले भने संविधानसभाको प्रश्नावली समिति बैठकमा सहभागि नहुने जनाएका छन् ।
एकीकृत नेकपा माओवादीका सभाषद् अमलला मोदीले पार्टीको रुलिङ अनुसार संविधानसभामा विपक्षी दलका कोही पनि सभाषद् सहभागि नहुने जानकारी दिनुभयो ।
माओवादी स्रोतका अनुसार सभाषद् बैठकमा सहभागि हुने तर भित्र समिति बैठक बस्न नदिने तयारी भइरहेको बुझिएको छ । प्रक्रिया खारेजको माग गर्दै यसअघि एमाओवादी लगायतका विपक्षीले संविधानसभा छाड्ने समेत भनेको थियो ।















प्रतिक्रिया